ड्यालस (टेक्सस) । लायन्स क्लबद्वारा स्थापित लायन्स हेल्थ फाउन्डेसनको संयोजनका मोबाइल मेडिकल केयर युनिट सञ्चालनमा आएको छ ।
अमेरिकाको ड्यालसमा रहेका नेपालीहरुको सकृयतामा स्थापना भएको लायन्स क्लबहरुको सकृयतामा स्वास्थको मोबाइल घुम्ती शिविर सञ्चालन गर्नका लागि झण्डै ९० हजार डलर मूल्य पर्ने बस किनिएको हो ।
टेक्ससमा मात्र नभै अमेरिकामा रहेका नेपाली समुदायको सकृयतामा घुम्ती स्वास्थ शिविर सञ्चालनका लागि उपचार सामग्रीसहित भएको बस खरिद भएको यो पहिलो घटना हो ।
आइतबार टेक्ससको अर्भिंङस्थित पशुपतिनाथ तथा बौद्ध मन्दिरमा मोबाइल घुम्ती शिविर सुरुवात गर्न खरिद भएको बसको पूजाआजासहित स्वागत गरिएको छ । मोबाइल स्वास्थ शिविर सञ्चालनका लागि बस खरिद गर्न लायन्स डिस्ट्रिक्ट टू एक्स वानले म्याचिङ्ग फण्डलगायतमा सहयोग गरेको छ ।
‘यो हाम्रो लागि गौरवको दिन हो । हामीले समुदायलाई सेवा गर्ने अझै प्रभावकारी माध्यम थप्न सफल भएका छौ’, ड्यालस एभरेष्ट लायन्स क्लबकी अध्यक्ष डा. विष्णुमाया उपाध्यायले भनिन् । मोबाइल स्वास्थ शिविर सञ्चालनका लागि लायन्स क्लबसँग अहिले नै चिकित्सकलगायत २० जना स्वास्थकर्मीहरुको समूह तयार भैसकेको छ ।
टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा दर्जनौँ नेपाली डाक्टरहरु र सयौंको संख्यामा नर्स प्राक्टिसनर र नर्सहरु कार्यरत छन् । मोबाइल घुम्ती स्वास्थ शिवीर सञ्चालनका लागि खरिद भएको बसभित्र बिरामी जाँच्ने, प्राथमिक उपचार लगायतका सबै सेवाहरु रहेका छन् । डा. उपाध्यायका अनुसार यो बसलाई समुदायले माग गरेको डिएफडब्लु मेट्रोप्लेक्सको जुनसुकै स्थानमा लगेर पनि सेवा दिन सकिन्छ ।
समुदायका सदस्यहरुलाई स्वस्थ रहन र स्वास्थ बीमा नभएकाहरुलाई सेवा प्रदान गर्न यो अझै प्रभावकारी हुनेछ । नेपालबाट आएका अभिभावकहरुलाई समेत सानातिना स्वास्थ समस्या निदान र उपचारका लागि घुम्ती स्वास्थ शिवीर सहयोगी हुने विश्वास लिइएको छ ।
ड्यालस एभरेष्ट लायन्स क्लबले मोबाइल स्वास्थ शिविरलाई अझै प्रभावकारी बनाउन स्वास्थकर्मीहरु मात्र समावेश रहने गरी क्लब स्थापना गर्नेगरी अघि बढेको छ ।
मोबाइल स्वास्थ शिविरका लागि किनिएको बस न्यूयोर्कबाट ल्याइएको हो । घुम्ती स्वास्थ शिवीर सुरुवातका अवसरमा आइतबार एभरेष्ट लायन्स क्लबले अर्भिंङस्थित मन्दिरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
त्यस अवसरमा लायन्स क्लबका संस्थापकहरु, कार्यसमितिका पदाधिकारीहरुलगायत लायन्स इन्टरनेसनलका पदाधिकारीहरुले खुशी व्यक्त गर्दै शुभकामना आदान-प्रदान गरेका थिए ।
शिविर सञ्चालनका लागि दिगो स्रोत, विश्वसनीय सेवाका लागि भविष्यमा विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव वक्ताहरुको थियो । त्यस अवसरमा पूर्वअध्यक्षहरु राम सी पोखरेल, राधाकृष्ण काफ्ले, विलाश उपाध्याय, थलराज पन्त, डा. ओम थापालगायतले खुशी व्यक्त गरेका थिए ।
यसैगरी आइतबार भएको स्वास्थ शिविरबाट झण्डै ८० जना लाभान्वित भएका छन् । शिवीरमा रक्तचाप, डायबिटिज, परामर्श लगायतका सेवाहरु प्रदान गरिएको थियो । लायन्स क्लबले नियमित रुपमा स्वास्थ शिविरहरु गर्दै आएको छ । आगामी दिनमा साधन र स्रोत थपेर अझै प्रभावकारी सेवा दिने योजनामा क्लब रहेको छ ।
प्रतिक्रिया