कोलोराडो, अमेरिका । २६४६ औं बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोस्थित डेनभर डाउनटाउनमा शान्ति पदयात्रा कार्यक्रम हुने भएको छ ।
बौद्ध समाज कोलोराडोको आयोजनामा बुद्धको जन्मभूमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा गौतम बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन शान्ति पदयात्राका कार्यक्रमको आयोजना गरिन लागिएको हो ।
यही मे १४ तारिक शनिबार बिहान १०ः३० बजे डेनभर डाउनटाउनस्थित सिभिक सेन्टर पार्कमा शान्तिका दूत भगवान् गौतम बुद्धको लामागुरुहरुबाट पूजापाठ गरी शान्ति पदयात्रा शुभारम्भ हुनेछ ।
त्यसपछि ११ बजे धिमेबाजासहित शान्ति पदयात्रा डेनभर डाउन टाउनको १६ स्ट्रिट महल परिक्रमा गरी पुनः सिभिक सेन्टर पार्कमा आई कोणसभा गरी कार्यक्रम सम्पन्न गरिने बैद्ध समाज कोलोराडोका सचिव सञ्जय शाक्यले बताएका छन् ।
आयोजक संघसंस्थाका पदाधिकारीहरुले आधुनिक सञ्चारका विभिन्न माध्यमहरुबाट कोलोराडोमा बसोवास गर्ने सम्पूर्ण नेपाली, नेपाली भाषी भुटानी, विभिन्न राष्ट्रबाट कोलोराडोमा आई बसोवास गरिरहेका बौद्ध धर्मालम्बी, नेपाल र नेपालीप्रति सद्भाव राख्ने स्थानीय सबैलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाउन अनुरोध गरिरहेका छन् ।
उनीहरुले सहभागीहरुलाई आफ्नो घरमा भएका नेपालको झण्डा, बुद्धको तस्बिर, व्यानर, प्रतिमा, ध्वजा पतङ्गा, बुद्धका महावाणीहरु समेटिएको प्लेकार्ड लिई सम्भव भएसँग परम्परागत पहिरन लगाएर उपस्थित हुन सबैलाई अनुरोध गरेका छन् ।
प्रतिक्रिया