वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिसविरुद्ध घृणाजन्य अपराध बढेको भन्दै त्यसलाई रोक्न बिहीबार एउटा विधेयकमा हस्ताक्षर गरेका छन् ।
घृणा र जातिभेद जस्ता गतिविधिहरु अमेरिकामा बढ्नुका साथै कतिपय एसियाली मूलका अमेरिकीमाथि सार्वजनिक स्थलमै आक्रमण हुन थालेपछि अमेरिकामै चिन्ता व्यक्त गर्न थालिएको थियो ।
डेमोक्रेट र रिपब्लिकन पार्टीका कैयौँ सांसदले एसियाली मूलका व्यक्तिमाथि भइरहेका आक्रमण रोक्न ल्याइएको विधेयकलाई समर्थन गरेका थिए । ह्वाइट हाउसमा बिहीबार विधेयक प्रमाणीकरण समारोहमा ठूलो संख्यामा सांसदहरु पनि उपस्थित भएका थिए ।
गत अप्रिलमै माथिल्लो सदन सिनेटले ९४–१ ले पारित गरेको उक्त विधेयकलाई यसै साता अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ३६४–६२ मतान्तरले अनुमोदन गरेको थियो ।
राष्ट्रपतिको चुनावी सभाहरुमा अमेरिकी जनतालाई एकताबद्ध गर्ने पटकपटक बताउँदै आउनु भएका राष्ट्रपति बाइडेनले विधेयक प्रमाणीकरण कार्यक्रममा पनि घृणा र जातिभेदलाई सबैले मिले परास्त गर्नुपर्नेमा जोड दिए ।
नयाँ कानुनले न्याय विभागलाई कुनै पनि किसिमका घृणाजन्य अपराधका विषयमा समीक्षा गर्ने बाटो खुलेको छ । कानुन कार्यान्वयन गर्ने निकायहरुलाई कुनै अपराध घृणाजन्य कार्य हो वा होइन भन्ने बारेमा अनुसन्धानमा मद्दत गर्न संघीय आर्थिक सहायता प्राप्त हुनेछ । कतिपय यस्ता घटनाहरुलाई विगतमा कानुनी दायरामा ल्याउने गरिएको थिएन ।
तर, कतिपय अधिकारकर्मीहरुले यस विषयलाई कानुन कार्यान्वयन गर्ने निकायको जिम्मेवारीमा छाड्न नहुने बताएका छन् । त्यस अवसरमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले कोरोनाभाइरस महामारी सुरु भएयता एसियाली र प्रशान्त क्षेत्रका मानिस र उनीहरुका व्यवसायलाई लक्षित गरी चक्कु प्रहार गर्ने, गोली चलाउने र अन्य किसिमका आक्रमण गर्ने गरिएको चर्चा गरे । उपराष्ट्रपति ह्यारिसले यस्ता घटनाहरु झण्डै छ गुणाले बढेको जानकारी दिइन् । एपी
प्रतिक्रिया