मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जुलाई ४ सम्म ७० प्रतिशत वयस्कलाई कोरोना खोप लगाउने राष्ट्रपति वाइडेनको लक्ष्य

जुलाई ४ सम्म ७० प्रतिशत वयस्कलाई कोरोना खोप लगाउने राष्ट्रपति वाइडेनको लक्ष्य


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा देशका ७० प्रतिशत बयस्कलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य तय गरेका छन् ।  
 
जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवस मनाउने दिनसम्म अमेरिकालाई कोरोना भाइरसबाट पनि खतरामुक्त बनाउने उनको भनाइ छ । 
 
कोरोनाभाइरस विरुद्धको लडाइँ जित्नका लागि खोप अभियान नै सबैभन्दा प्रभावकारी र भरपर्दो उपाय हुने उनले विश्वास व्यक्त गरेका छन् । कतिपय मानिसले खोप लगाउन रुचि नराखेकाले यो अभियान अपेक्षितरुपमा अगाडि बढ्न नसकेपनि आफूले तय गरिएको लक्ष्य भने पूरा हुने विश्वास उनको छ । 
 
उनका अनुसार अमेरिकामा अहिलेसम्म झण्डै ५६ प्रतिशत बयस्कले खोप लगाइसकेका छन् भने बाँकी झण्डै दुई महिनामा कूल ७० प्रतिशत बयस्कलाई खोप लगाउने लक्ष्य पूरा हुने उनले दाबी गरेका छन् ।  
 
राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सबैले खोप लगाउन अति नै आवश्यक छ, खोप नलगाएकालाई सङ्क्रमणको खतरा बढी हुने भएकाले सङ्क्रमणबाट जोगिन सबैलाई खोप लगाउन म आग्रह गर्दछु ।”
 
राष्ट्रपति वाइडेनको प्रशासनले सुरुदेखि नै खोप लगाउने र मास्क लगाउने कार्यलाई उच्च प्राथमिकताका साथ अभियानकैरुपमा जोड दिँदै आएको छ । अमेरिकामा अहिलेसम्म १० करोड ५० लाख मानिसले खोप लगाइसकेका छन् भने दैनिक झन्डै १० लाख मानिसलाई खोप दिने गरिएको अधिकारीरुले जनाएका छन् ।
 
खोप लगाउन सहजीकरणका लागि अमेरिकामा खोपसम्बन्धी छुट्टै वेबसाइट सञ्चालन गरिएको छ । सो वेबसाइटमा खोप लगाउन चाहनेले आफूलाई पायक पर्ने खोप केन्द्रमा नाम टिपाउन मिल्ने व्यवस्थासमेत गरिएको जनाइएको छ । एपी