वासिङ्टन । अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिएका छन् । महान्यायाधीवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई “मेमो” पठाएर राष्ट्रपति चुनावमा धाँधली भए नभएको अनुसन्धान गर्न निर्देशन दिएपछि त्यसको विरोधमा पिल्जरले राजीनामा दिएका हुन् ।
पिल्जरले हाल महान्यायाधीवक्ताको कार्यालयमा चुनावसँग सम्बन्धित अपराधको छानबिन विभाग सम्हाल्दै आएका थिए ।
रिपब्लिकन पार्टी र राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई बधाईसमेत दिएका छैनन् भने चुनावी परिणामलाई पनि स्वीकार गरेका छैनन् ।
राष्ट्रपति ट्रम्पले हार स्वीकार्न अस्वीकार गरेसँगै उनका महान्यायाधीवक्ता विलियम बारले विभिन्न संघीय निकायहरुलाई पत्र (मेमो) लेखेर तत्काल छानबिन अगाडि बढाउन विवादास्पद निर्देशन दिएका छन् ।
महान्यायाधीवक्ता बारले चुनावको औपचारिक नतिजा सार्वजनिक हुनुअघि राष्ट्रपतिको गुनासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनु भए पनि राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाइरहेका छन् । राष्ट्रपतिको पक्षका वकिलहरुले अमेरिकाका विभिन्न राज्यका अदालतमा मुद्दा दायर गरिरहेका छन् । एएफपी
प्रतिक्रिया