अमेरिका समाचार

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, सात करोडले गरे हुलाकमार्फत् मतदान

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, सात करोडले गरे हुलाकमार्फत् मतदान


वासिङ्टन । विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफिल्डबाट मतदान सुरु गर्ने परम्पराअनुसार त्यस ठाउँमा मतदान भइसकेको हो ।  

नेपाली समयअनुसार मंगलबार बेलुकाबाट मतदान सुरु हुने भएको हो । अमेरिकाको स्थानीय समय अनुसार मंगलबार बिहान स्थानअनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान सुरु भएको छ । 

Advertisement

प्रत्यक्ष मतदान मंगलबार हुने भए पनि सोमबारसम्म अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेको अधिकारीहरुले जनाएका छन् । 

चुनावको एक दिन बाँकी छँदा ६.९५ करोड अमेरिकीले हुलाकमार्फत् अथवा पहिल्यै मतदान गर्न पाउने व्यवस्थाअन्तर्गत मत दिइसकेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौ मतदाताले मतदान गर्दछन् । 

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोनाभाइरस महामारीलाई लिएर आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको थियो ।

राष्ट्रपतिका लागि बर्तमान राष्ट्रपति तथा रिपब्लिकनका तर्फबाट उम्मेदबार बनेका डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदबार बनेका  जो वाइडेनका बीचमा कडा प्रतिस्पर्धा बताइएको छ । 

प्रतिस्पर्धीमध्ये ट्रम्प ७४ वर्ष र वाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेवारी बूढा नेतालाई नै पर्ने भएको छ । वाइडेनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख मुद्दा बनाएका छन् भने ट्रम्प आफूमाथि लागेको आरोपहरुको प्रतिवाद गर्दै आक्रामकरूपमा प्रस्तुत भएका छन् । 

चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेनलाई नै अगाडि देखाइएको छ भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दावी गरिएको छ ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्त्वका साथ हेर्ने गरिन्छ । अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्रयाटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ ।

अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ । सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् । 

यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्ट्रोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् । 

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि मतदानमा हिलारी क्लिन्टनले धेरै मत पाए पनि इलेक्ट्रोरल कलेजको मत डोनाल्ड ट्रम्पले धेरै पाएर उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसैगरी त्यतिबेला अधिकांश सर्वेक्षण र सञ्चारमाध्यमहरुले हिलारी विजयी हुने प्रक्षेपण गरेका थिए ।

अमेरिकामा हरेक चार चार वर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ । एपी/एएनआई

 

शेयर गर्नुहोस:

2.7k
Shares