नेपाल

कोरोनाबाट हेटौँडासहित बागमती प्रदेशमा २९ जनाको मृत्यु

कोरोनाबाट हेटौँडासहित बागमती प्रदेशमा २९ जनाको मृत्यु


हेटौँडा । विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण बागमती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । 
 
मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुरुषसहित तीन जनाको उक्त सङ्क्रमणबाट मृत्यु भइसकेको बताइएको छ । मकवानपुरमा हालसम्म सङ्क्रमितको सङ्ख्या २६० पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखापरेको छ ।  
 
प्रदेशमा ७३४ जना कोरोना सङ्क्रमित उपचारपश्चात् घर फर्केका छन् । सङ्क्रमितमध्ये धेरैको आइसोलेसनमा उपचार भइरहेको छ । मन्त्रालयबाट प्राप्त जानकारीअनुुसार  कोरोना सङ्क्रमण जनस्तरमा फैलिन थालेपछि  प्रदेश सरकारले कोरोना जाँच गर्ने दायरा बढाएको छ  । प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा सङ्क्रमित फेला परेकाले कडाइ गरिएको छ ।  
 
यसैबीच, कोरोना सङ्क्रमण नियन्त्रणका लागि हेटौँडामा जारी गरिएको निषेधाज्ञामा कडाइ गरिएको छ । निषेधाज्ञाका कारण हेटौँडालगायत आसपास बजार पूर्णरुपमा बन्द रहेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले कोरोना जनसमुदायमा फैलिन थालेपछि  यही भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए । रासस