विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार र लगानीका क्षेत्रमा भएका सहमतिको मोरङ उद्योग व्यापार सङ्घले स्वागत गरेको छ ।
सङ्घका अध्यक्ष अनिलकुमार साहले आज सञ्चारकर्मीसँग भ्रमणका उपलब्धिबारे धारणा सार्वजनिक गर्दै यसले नेपाल–भारत आर्थिक तथा व्यापारिक सम्बन्धमा नयाँ उत्साह थपेको र नेपाली उद्योगी–व्यवसायीलाई लाभ पुग्ने बताए ।
उनका अनुसार भारतको कोलकाता र विशाखापट्टनमसँगै गुजरातको दीनदयाल र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न पाउने सहमतिले नेपालको समुद्रपार व्यापारमा पारवहन दूरी तथा ढुवानी खर्च घटाउनुका साथै समय बचत गर्नेछ ।
त्यस्तै, काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भारत सहमत हुनु नेपालको लामो समयदेखिको माग सम्बोधन भएको सङ्घको भनाइ छ । यसबाट भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालन सहज हुनुका साथै हवाई भाडा घट्ने र पर्यटन व्यवसायलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।
कञ्चनपुरको बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास, धार्चुला–दार्चुला जोड्ने मोटरेबल पुलको उद्घाटन तथा भैरहवा, सुनौली र दोधारा–चाँदनीका जाँच चौकी निर्माणलाई तीव्रता दिने सहमतिले सीमा नाकामा मालवाहक सवारीसाधनको अवरोध हटाई आयात–निर्यात सहज बनाउने सङ्घको विश्वास छ ।
अयोध्या र जनकपुरलाई जोड्ने सरयु–कमला द्रुत रेल सेवा सञ्चालन तथा रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गको अन्तिम सर्वेक्षण पूरा हुनुलाई सङ्घले पर्यटन र यातायातका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानेको छ ।
चितवनमा कृषि–औद्योगिक पार्क, नेपालमा भारतीय प्रविधि संस्थान र नवप्रवर्तन केन्द्र स्थापना गर्ने सहमतिले कृषि प्रशोधन तथा सूचना प्रविधिका क्षेत्रमा युवा उद्यमीका लागि अवसर सिर्जना गर्ने सङ्घले जनाएको छ । सीमापार बैंकिङ तथा दूरसञ्चार सेवा सहज बनाउने सहमतिले व्यापार, शिक्षा र पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने उसको विश्वास छ ।













प्रतिक्रिया