सर्वप्रथम, ‘निलो लहर’ (ब्लु सुनामी) मा सहभागी हुने सबै नेपालीलाई बधाई ! प्रस्ट रूपमा अमेरिकाले विध्वंसकारी “मागा रिपब्लिकन” सँग छुटकारा मागेको छ । मलाई खुसी छ, हामी पनि यो परिवर्तनको पक्षमा उभिएका छौँ ।
यो निलो लहरले राज्यस्तरीय दुई नेपाली सांसदहरू: ह्यारी भण्डारी (मेरिल्यान्ड) र सराहना श्रेष्ठ (न्युयोर्क) लाई पुनः जिताएको छ । न्यु ह्याम्पसायर राज्यमा अर्को नयाँ सांसद विश्वबहादुर शाहलाई थपेको छ । उहाँहरूको साथमा अर्का नेपालीभाषी सिक्किमेली मित्र सुवेदी (केन्टकी) पनि जोडिनुभएको छ । बिस्तारै स्थानीय तहमा उम्मेदवारी दिने लर्को बढ्दै छ र यो सुनामीले त्यसलाई अझ बढी मलजलको काम गर्छ भन्नेमा मलाई विश्वास छ ।
यो चुनावी लहरले टेक्सस, विशेषगरी हामी बसोबास गर्ने ड्यालस–फोर्टवर्थ (DFW) महानगर क्षेत्र, र अझ विशेष गरी म बस्ने ट्यारेन्ट काउन्टीलाई आफ्नो राजनीतिक इतिहासको एक विशेष र ऐतिहासिक मोडमा उभ्याएको छ । दशकौँसम्म रिपब्लिकन पार्टीको “लाल किल्ला” मानिँदै आएको टेक्सस राज्य र त्यसको सबैभन्दा ठुलो रिपब्लिकन गढ मानिने ट्यारेन्ट काउन्टी पूर्णतः निलो रङमा पोतिएको छ ।
सबैभन्दा पहिले टेक्सासमा यो “निलो लहर” ल्याउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने टेक्सस डेमोक्र्याटिक पार्टीका अध्यक्ष केन्डल स्कुडर तथा ट्यारेन्ट काउन्टी डेमोक्र्याटिक पार्टीकी अध्यक्ष एलिसन काम्पोलोलाई धन्यवाद तथा बधाई दिन चाहन्छु । साथै, डेमोक्र्याटिक पार्टीमा विश्वास गरेर मैदानमा उत्रने हजारौँ देखिएका र नदेखिएका स्वयंसेवकहरू र पार्टीका नेताहरूप्रति सादर नमन गर्न चाहन्छु, जसले यो असम्भवलाई सम्भव बनाइदिए ।
हामी किन यो लहरको हिस्सा बन्यौँ ? केही कारण यस्ता छन्:
• ट्रम्प, उनको परिवार र प्रशासनमा देखिएको चरम भ्रष्टाचार,
• ट्रम्प प्रशासनको धार्मिक तथा सांस्कृतिक विविधताप्रतिको असहिष्णु नीति,
• आप्रवासीविरुद्धको कठोर अभियान,
• नागरिक र गैरनागरिक दुवैलाई प्रभावित पार्ने धरपकड तथा देशनिकालाको त्रास,
• बढ्दो महँगी र जीवनयापनको लागत,
• जनसाङ्ख्यिक तथा पुस्तागत परिवर्तन,
• नागरिक सहभागितामा आएको वृद्धि ।
तर अब समय आएको छ— उत्तर टेक्ससमा बसोबास गर्ने एक लाखभन्दा बढी नेपाली मूलका समुदायले यो राजनीतिक परिवर्तनलाई दुई राजनीतिक दलबीचको प्रतिस्पर्धाका रूपमा मात्र हेरेर चित्त बुझाउनुभन्दा एउटा गम्भीर प्रश्न आफैँसित उठाउनुपरेको छ: हाम्रो आफ्नै टोल, सहर र काउन्टीको भविष्य निर्धारण गर्ने नीति तथा निर्णय प्रक्रियामा नेपाली समुदायको आवाज र प्रतिनिधित्व कहाँ छ ?
डेन्टन, कोलिन, ड्यालस र ट्यारेन्ट काउन्टी बदलिरहेका छन् । एक पुस्ताअघिको तुलनामा आजका काउन्टीहरू निकै विविधतापूर्ण बनिसकेका छन् । विशेषगरी युलेस, बेडफोर्ड, हर्स्ट, अर्भिङ, आर्लिङ्टन, केलर, फोर्टवर्थ, प्लानो, फ्रिस्को, डेन्टन लगायतका सहरहरूमा उल्लेख्य उपस्थिति बनाइसकेको नेपाली समुदाय अब राजनीतिक प्रक्रियाको केवल दर्शक बनेर बस्नु हुँदैन भन्ने मलाई लाग्दछ । आफ्नो समुदायको हित, समान अवसर, शिक्षा, सार्वजनिक सेवा र स्थानीय विकासका सवालमा सक्रिय सहभागिता जनाउँदै नीति निर्माण र निर्णय प्रक्रियामा आफ्नो अर्थपूर्ण उपस्थिति स्थापित गर्ने समय आएको छ ।
यहाँका नेपालीहरूले सूचना प्रविधि (IT), स्वास्थ्य सेवा, इन्जिनियरिङ, शिक्षा, रियल इस्टेट, रेस्टुरेन्ट, ग्यास स्टेसन तथा साना–ठुला व्यवसायमार्फत स्थानीय अर्थतन्त्रमा ठुलो योगदान पुर्याएका छन् । हामीले घर किनेका छौँ, नियमित कर तिरेका छौँ । नेपाली समाज टेक्सस (NST) तथा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) जस्ता संस्थाहरूमार्फत बलियो सामाजिक सञ्जाल बनाएका छौँ ।
तर आर्थिक सफलता र सांस्कृतिक सक्रियताले मात्र नीति निर्माण तहमा प्रभाव पार्दैन । जुन समुदायले यी काउन्टीहरू र टेक्सासको अर्थतन्त्रमा यति ठुलो पसिना बगाएको छ, त्यो समुदायको स्थानीय सरकारका निर्णयहरूमा पनि अर्थपूर्ण प्रतिनिधित्व हुनैपर्छ भन्ने मलाई लाग्छ । तपाईंहरू सबैलाई थाहा छ, म यस काममा विगत १५ वर्षदेखि लागिपरेको छु ।
२०२६ को निर्वाचन: ट्यारेन्ट काउन्टी र टेक्ससमा ऐतिहासिक मोड
नोभेम्बर ३, २०२६ को मध्यावधि निर्वाचनले ‘ब्लु सुनामी’ लाई ठोस रूप दिएको छ:
• ट्यारेन्ट काउन्टीमा: दशकौँदेखिको रिपब्लिकन वर्चस्व तोड्दै डेमोक्र्याटहरूले काउन्टी जज (अलिसा सिमन्स), डिस्ट्रिक्ट एटोर्नी र कमिसनर्स कोर्ट (Commissioners Court) मा ४–१ को बहुमत कायम गरे ।
• कोलिन काउन्टी (Collin County): लामो समयदेखि रिपब्लिकनको प्रभाव रहेको यस काउन्टीमा डेमोक्र्याटिक उम्मेदवार जेम्स टालारिकोले ५५.१% मत प्राप्त गरे । साथै एनजी करवेले टेक्सास हाउसमा सिट जितिन् । जुली होल्मर कोलिन काउन्टी कमिसनर्स कोर्टमा सन् १९८० को दशकपछि निर्वाचित हुने पहिलो डेमोक्र्याट बनिन् भने मिहेला प्लेसाले आफ्नो टेक्सास हाउस सिट पुनः जितिन् ।
• डेन्टन काउन्टी (Denton County): पहिले रिपब्लिकनको बलियो आधार मानिने यस काउन्टीमा टालारिकोले ५३.३% मत प्राप्त गर्दै डेमोक्र्याटिक पकड विस्तार गरे । डेनिस उटनले टेक्सास राज्य (HD 63) जितिन्, क्यान्डास भालेन्जुएलाले कमिसनर प्रिसिङ्क्ट २ (Commissioner Precinct 2) जितिन्, र ब्रान्डन चेस म्याकगी, मिसेल बटलर, ट्रिस्टा विल्फोर्ड तथा क्याथरिन मूरले जस्टिस अफ द पिस (Justice of the Peace) को ६ मध्ये ४ सिट जिते ।
• ड्यालस काउन्टी: पहिले नै डेमोक्र्याटिक प्रभाव रहेको यस काउन्टीमा टालारिकोले ७१.९% मत प्राप्त गर्दै आफ्नो पार्टीको बलियो जनसमर्थन कायम राखे ।
- राज्यस्तरमा: तीन दशकभन्दा लामो समयपछि टेक्सासका डेमोक्र्याटहरूले गभर्नर पद (जिना हिनोजोसा), अमेरिकी सिनेट (जेम्स टालारिको) र राज्यव्यापी सबै कार्यकारी पदहरूमा ऐतिहासिक जित हासिल गरे भने राज्यको तल्लो सदनमा १५० मध्ये २१ सिट पल्टाएर ८३ सिटको बहुमत पुर्याए ।
समग्र प्रभाव: ड्यालसको परम्परागत डेमोक्र्याटिक आधारसँगै कोलिन र डेन्टनजस्ता उपनगरीय काउन्टीमा आएको परिवर्तनले उत्तर टेक्सासको राजनीतिक सन्तुलनमा नयाँ सम्भावना र चुनौती दुवै सिर्जना गरेको छ । यसले नेपाली–अमेरिकी समुदायका लागि स्थानीय सरकार, शिक्षा, आवास, आप्रवासन, सार्वजनिक सुरक्षा र आर्थिक विकासका नीतिगत निर्णयमा आफ्नो आवाज र प्रतिनिधित्व बढाउने अवसर पनि प्रस्तुत गरेको छ ।
यसको अर्थ टेक्सास एकपक्षीय भयो भन्ने होइन—रिपब्लिकनहरूले अझै पनि टेक्सास सिनेटमा नियन्त्रण राखेका छन् । हामीले समर्थन गरेका कैयौँ उम्मेदवारले हारे पनि यो चुनावले के प्रमाणित गरेको छ भने जब स्थानीय मतदाताहरू सङ्गठित हुन्छन्, तब असम्भव ठानिएका राजनीतिक समीकरणहरू पनि बदलिन्छन् ।
(लेखकः हिमालयन डेमोक्र्याटिक क्लबका अध्यक्ष हुनुहुन्छ ।)













प्रतिक्रिया