काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको १३ हजार ५७९ जनाको पिसिआर परीक्षणका क्रममा ८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमा १२ हजार १३२ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा संक्रमितको संख्या शून्य छ ।
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा काठमाडौँकी काठमाडौँ, ललितपुर, चितवन, बारा, पर्सा, मोरङ, सप्तरी, सर्लाही र मकवानपुरका एक एक पुरुष तथा दोलखाकी एक महिला रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ जना पुगेको छ । जसमा १०३ पुरुष र ३४ महिला रहेका छन् ।
काठमाडौँ उपत्यकामा थप १८२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या २८४६ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म पाँच लाख ७९ हजार ८९९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १२ हजार २३४ जना देशभरका क्वारेन्टाइनमा र १२ हजार १३२ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै, शुक्रबार एकै दिन कोरोना संक्रमण निको भई २५० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।
प्रतिक्रिया