मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कान्तिपुरका सहायक सम्पादक बानियाँ मकवानपुरमा मृत फेला

कान्तिपुरका सहायक सम्पादक बानियाँ मकवानपुरमा मृत फेला


काठमाडौँ । दुई दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएका अवस्थामा शव फेला परेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।
 
मङ्गलबार बिहानै शव फेला परेको थियो । पानी परिरहेको र जालीमा अड्किएकाले प्रहरीलाई शव निकाल्न समेत निकै मुस्किल भएको थियो । साँझमात्रै शव निकालेर राति परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । आज मात्रै शवको सनाखत भएको बताइएको छ । 
 
पत्रकार बानियाँ पहिले लामो समय ‘कान्तिपुर‘ दैनिकमा काम गरी बीचमा ‘नागरिक’ दैनिकमा केही समय गएका थिए । त्यसपछि पुनः फर्किएर कान्तिपुरमा कार्यरत थिए ।  एसएसपी थापाका अनुसार यही साउन २६ गते बल्खुस्थित खोलामा चिप्लिएर लडेपछि उनी बेपत्ता भएका थिए । पानीको बहाब बढी भएकाले उद्धार प्रयास सफल हुन सकेन । तत्कालीन समयमा उनको पहिचान हुन सकेको थिएन ।
 
प्रहरीमा प्राप्त विवरणअनुसार सोमबार अपराह्न ३ बजे पत्रकार बानियाँ बल्खुमा हिँडिरहेका अवस्थामा देखिएका थिए । सोमबार ३ः२३ बजेको सिसी क्यामेरा फुटेजमा उनी  हल्लिएर हिँड्दै गरेको देखिएको प्रहरीले जनाएको छ ।
 
कोभिड–१९ को जोखिमका समयमा मास्क नलगाई हिँडेको देखेपछि त्यसबेला प्रहरीले कहाँ जान लागेको भनेर सोधखोजसमेत गरेको थियो । पत्रकार बानियाँले तीनकुनेस्थित घर जान लागेको भनी जवाफ फर्काएका थिए । प्रहरीले राम्ररी सुरक्षित भएर घर जानसमेत सुझाएका थिए तर उनीमाथि लाग्नुपर्नेमा खोलातिर लागेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
 
“स्थानीयवासीले खोला छ, तल नजानुहोस् भन्दाभन्दै उनी थाहा छ भन्दै खोलातर्फ गएछन्, जाँदाजाँदै चिप्लिएर लडेछन्”, महाशाखा प्रमुख थापाले भने । उक्त घटना सोमबार अपराह्न १५ः४५ बजेतिरको हो । त्यसपछि तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले समेत खोजी गर्दा फेला पार्न सकेनन् । घटनास्थलमा जुत्ता भने फेला परेको थियो । 
 
खोला किनारमा भेटिएको जुत्ता भने छोरीले पहिचान गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । छोरी सुस्मिताले सिसी टिभी फुटेज हेरेपछि बानियाँलाई नदीले बगाएको पहिचान खुलेको थियो । 
 
पत्रकार बानियाँ घरबाट भने साउन २५ गते नै निस्किएको महाशाखाले जनाएको छ । । त्यस दिन उनी काठमाडौँको ढुङ्गेअड्डास्थित तीनथानामा रहेको आफन्तकहाँ बसेको खुलेको छ । त्यहाँबाट भोलिपल्ट अपराह्न साढे १२ बजे उनी हिँडेका थिए । त्यसदिन अपराह्न १ बजे कलङ्कीबाट मोबाइल अफ भएको पाइएको छ ।
 
मङ्गलबार परिवारबाट महाशाखामा खोजतलासका लागि निवेदन परेपछिमात्रै महाशाखाले उनलाई नै वाग्मतीले बगाएको भन्ने यकिन गरेको थियो । खोला किनारमा पुगेपछि जुत्ता अड्किएको र मान्छे खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । तत्कालै स्थानीय तथा प्रहरीले उद्धार प्रयास गरे पनि सफल हुन सकेन ।
 
मकवानपुर–भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित माण्डु हाइड्रोपावरको बाँधमा अल्झिएको अवस्थामा फेला परेको शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अपराध अनुसन्धान महाशाखा काठमाडौँले बानियाँको परिवारलाई तस्वीर देखाएपछि  परिवारले शव पुष्टि गरेका थिए । सोही आधारमा आफूहरुले शवको सनाखत गरेको प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।
 
दुई दिनदेखि घर नफर्किएपछि परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको थियो । विसं २०२७ जेठ १५ गते तनहुँ जिल्लाको भानु नगरपालिकामा जन्मिएका बानियाँ काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ सुविधानगरमा बस्दै आएका थिए । बानियाँ नेपाल पत्रकार महासङ्घका पूर्वसचिवसमेत हुन् । 
 
वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त
 
तनहुँको भानु नगरपालिका–१३ निवासी पत्रकार बलराम बानियाँको निधनप्रति नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । तीन दिनदेखि बेपत्ता भएका पत्रकार बानियाँको शव बुधबार भेटिएपछि शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता पौडेलले दुःख व्यक्त गरेका हुन् । 
 
विगत दुई दशकदेखि राष्ट्रिय दैनिकमा आबद्ध रहेर राजनीतिक, सामाजिक र प्रशासनिक ब्यूरोमा कलम चलाउँदै आएका बानियाँको निधनको खबरले आफू स्तब्ध भएको वरिष्ठ नेता पौडेलले उल्लेख गरेका छन् । निष्ठावान्, निडर र हक्की स्वभावका बानियाँको निधनले नेपालको पत्रकारिता जगत्मा एउटा नक्षत्र गुमाएको महसुस भएको पौडेलले उल्लेख गरेका छन् । उनले वक्तव्यमा भनेका छन्, “दुःखको यस घडीमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।” 
 
महासङ्घद्वारा दुःख व्यक्त
 
नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिव बलराम बानियाँको निधनप्रति महासङ्घले दुःख व्यक्त गरेको छ । ‘पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासङ्घ दिवङ्गत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ’, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
 
विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगत्मा महत्वपूर्ण योगदान पु¥याएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत थिए ।  यही २०७७ साल साउन २६ गते दिउँसोदेखि काठमाडौँबाट सम्पर्कविहीन रहेका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डुजलविद्युत् आयोजना स्थलमा भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ । 
 
महासङ्घले बानियाँको रहस्यमय ढङ्गले भएको निधनबारे गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग मागसमेत गरेको छ । साथै महासङ्घले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदनासमेत व्यक्त गरेको छ । रासस

शेयर गर्नुहोस:

0
Shares