मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपत्यकामा संक्रमण फैलिएपछि प्रवेश रोक्न नाकामा कडाइ

उपत्यकामा संक्रमण फैलिएपछि प्रवेश रोक्न नाकामा कडाइ


काठमाडौँ । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । 
 
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हँुदै उपत्यका प्रवेश गर्न रोक लगाएको जानकारी दिए । साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकललगायत अत्यावश्यक सवारी साधनबाहेक अरूलाई रोक लगाएको उनको भनाइ छ ।
 
विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको बताउँदै प्रनाउ जोशीले पैदल यात्रीलाई समेत रोक लगाएको बताए । उनले साँझ ७ देखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकलबाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाएको बताए । पास भएका सवारी साधन पनि साँझ ७ बजेदेखि प्रवेश गर्न पाउने छैनन् । 
 
ढुवानीका साधन भने राति १०  देखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउनेछन् तर ढुवानीका साधनमा पनि एक चालक र एक सहचालकबाहेक अरू व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रनाउ जोशीले बताए । 
 
प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ । राति ९ देखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाएको छ । प्रनाउ जोशीले भने, “राति ९ देखि बिहान ५ बजेसम्म तोकिएको बाहेक कुनै पनि यातायात सञ्चालन गर्न पाइने छैन, त्यो अवधिमा पैदल यात्रीलाई समेत हिँड्डुल गर्न रोक लगाएका छौँ, त्यसैले ९ बजेभित्र सबैजना आ–आफ्नो घर पुगिसक्न आग्रह गर्दछौँ ।” 
 
९ बजेपछि कुनै पनि पसल, होटल, रेष्टुरेष्ट सञ्चालनमा रोक लगाइएको छ । काभ्रेबाट उपत्यका प्रवेश गर्नेको हकमा नागरिकता वा परिचयपत्र वाहकलाई मात्र प्रवेश गर्न दिएको छ ।
 
केही दिनअघि नमूनाका रुपमा साँगा नाकाबाट प्रवेश गर्ने ६३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा १३ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकालाई कडाइ गरिएको हो । 
 
लकडाउन खुलेसँगै विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेको भीडसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये उपत्यका बाहिरबाट आउने ६३ प्रतिशत रहेको छ । रासस / तस्बिर : एजेन्सी