काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमित दैनिकरुपमा बढिरहेका छन् , शनिबार काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी १००७ जनामा संक्रमण भइसके पनि पनि भीडभाडमा भने कमी आएको छैन ।
गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ । मानिसको भीडभाड र जमघट गरी बस्ने बानी पुरानै शैलीमा फर्किएको देखिन्छ । यसरी बस्दा सामान्य सावधानी अपनाएको पाइँदैन ।
कतिले त सामान्य मास्क पनि नलगाई पसेका देखिन्छन् । जसले गर्दा उनीहरु मात्रै होइन परिवार र छरछिमेक पनि उत्तिकै जोखिममा रहेको रहेको अनुमान गाउन सकिन्छ ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार काठमाडौँको न्युरोड, असन, इन्द्रचोकमा नयाँ बिरामी थपिने क्रम जारी छ तर नागरिक त्यस क्षेत्रमा कुनै पर्वाह नै नगरी पसलहरु सञ्चालन गरिरहेका छन् । जोरबिजोर प्रणाली लागू भए पनि सबै खालका सवारी पनि सञ्चालन भएकै छ । यसले महामारी थप बढ्नका लागि सहयोग पुगेको स्पष्ट हुन्छ ।
यस विषयमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले अत्यावश्यकबाहेक अन्य पसल सञ्चालन नगर्न भनिएको बताए । व्यापारीले आलटाल गरिरहेको भन्दै यस विषयमा कामपाले कडा कदम चाल्ने बताउँछन् ।
प्रवक्ता डङ्गोलले भने, “केही सहज हुँदा सञ्चालन गर्न दिएकै हो, विषम परिस्थिति भएकाले केही दिन अनावश्यक रुपमा बाहिर ननिस्कन र आवश्यक कामका लागि पनि सजह हुन आवश्यक छ । काठमाडौँ आफैँमा घना बस्ती भएको स्थान हो । यस्तो स्थानमा सङ्क्रमण जोखिम बढी छ ।
लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डसमेत पालना नगरेको देखिन्छ । यसले पनि जोखिम बढाएको छ । हालसम्म काठमाडौँ उपत्यकामा मात्रै करीब एक हजारको हारहारीमा सङ्क्रमित पुष्टि भइसकेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ ।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयमा आइतबारदेखि लागू हुनेगरी दुई हप्ताका लागि अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । जसका लागि शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो ।
यस अवधिभरमा जिल्ला प्रशासन कार्यालयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुनेछ । बैठकले बजारको अनुगमनलाई तीव्र बनाउनाका साथै सामाजिक दूरी र सुरक्षाका उपाय नअपनाउनेलाई कारबाही गर्ने पनि निर्णय गरेको छ । रासस
प्रतिक्रिया