मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

संक्रमण उच्च देखिएपछि सप्तरीको सबै नाका बन्द

संक्रमण उच्च देखिएपछि सप्तरीको सबै नाका बन्द


सप्तरी । कोरोनाको सङ्क्रमण बढ्नेक्रम नरोकिएपछि स्थानीय युवाको पहलमा राजविराजको हटिया आइतबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । 
 
सप्तरीको राजविराज नगरपालिका–७ स्थित गुद्री हटिया प्रवेश गर्ने सबै नाका बन्द गरिएको सप्तरी युथ नेपालका विष्णु यादवले जानकारी दिए । राजविराजको चतुर्भुज मार्केट अगाडि  ‘प्रवेश निषेध’ को ब्यानर लगाउँदै युवाले हटिया सिल गरिएको उनले बताए ।
 
शनिबार सार्वजनिक भएको पिसिआर रिपोर्टअनुसार राजविराज–७ मा दुई र हालसम्म छ जनालाई कोरोना सङ्क्रमण देखिएपछि हटिया बन्द गरिएको स्थानीयवासीले बताएका छन् । 
 
सोमबार हुने रक्षाबन्धनका लागि भीडभाड हुन नदिन हटिया प्रवेश गरिने नौ मुख्य प्रवेशद्वारमा प्रवेश निषेधको ब्यानर झुण्ड्याएर हटियालाई निषेधित क्षेत्र घोषणासमेत गरेका छन् । 
 
राजविराजमा कोरानाका कारण साउन १ गते एकजना व्यापारीको मृत्यु भएर उनको परिवारका सदस्य हुँदै समुदायमै सङ्क्रमण फैलिएपछि नगरपालिकाले लकडाउन तथा स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेका छन् । 
 
शनिबारको रिपोर्टअनुसार वडा नं ७ का ५५ र ४० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । यसबाहेक नगर क्षेत्रमा मात्रै शनिबार १८ जना सङ्क्रमित थपिएका छन् । स्थानीय युवाले त्रासको वातावरण अरू मानिसमा नहोस् भन्दै हटिया सिल गरी बन्द गराउनु परेको जनाएका छन् । 
 
ग्रिन नेपालका संयोजक खेलानन्द दासले राजविराज नगर क्षेत्रमा कोरोना सङ्क्रमणको त्रास नरोकिएसम्म हटिया सञ्चालन गर्न नदिने जानकारी दिए । 
 
राजविराज नगरपालिकाले ७ गतेदेखि नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन र स्थानीय प्रशासनले पनि साउन ८ गतेदेखि राजविराजमा निषेधित क्षेत्र घोषणा गरेका छन् भने वडा नं ६ सिरहारोडमा अनिश्चितकालीन निषेधाज्ञासमेत आदेश जारी गरेको छ । रासस

शेयर गर्नुहोस:

0
Shares