मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थपिए ३४६ संक्रमित, थप एकसहित ५७ जनाको मृत्यु

नेपालमा थपिए ३४६ संक्रमित, थप एकसहित ५७ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ८८६१ जनाको पिसिआर परीक्षणका क्रममा ३४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २० हजार ७७१ पुगेको छ । जसमा ५६७२ जना संक्रमित उपचाररत छन् । 
 
मन्त्रालयका अनुसार रौतहट र कैलालीमा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच जिल्लामा संक्रमितको संख्या शून्य छ । प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा पर्साकी ६८ वर्षकी एक महिला रहेकी छन् । मधुमेहको बिरामी उक्त महिलामा यही साउन १६ गते कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ जना पुगेको छ । 
 
काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा २२, ललितपुरमा आठ र भक्तपुरमा एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्याभित्र कोरोना संक्रमित हुनेको संख्या ५७७ पुगेको छ ।
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म तीन लाख ९१ हजार २७० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १० हजार ९३४ जना देशभरका क्वारेन्टाइनमा र ५६७२ जना आइसोलेसनमा रहेका छन् ।
 
त्यस्तै आइतबार एकै दिन कोरोना संक्रमण निको भई १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ । जुन कुल संक्रमितको ७२ प्रतिशत हो ।