काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १३९ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ५७२ पुगेको छ । जसमा ४९५० जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार रौतहट र कैलालीमा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
सोमबार सबैभन्दा बढी दैलेखमा २८ सङ्क्रमित फेला परेका छन् । यस्तै सप्तरीमा २१, पर्सामा १८, धनुषा र महोत्तरीमा १०/१०, बैतडीमा चार, ललितपुर, काठमाडौँ र कास्कीमा तीन/तीन, पर्सा र सल्यानमा दुई/दुई तथा सिरहा, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र सुर्खेतमा एक/एक जनामा सङ्क्रमण देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ३ लाख ४७ हजार २७५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
उनका अनुसार हाल १६ हजार ३७९ जना देशभरका क्वारेन्टाइनमा र ४९५० जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै सोमबार एकै दिन कोरोना संक्रमण निको भई ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ पुगेको छ । जुन कुल संक्रमितको ७५.५ प्रतिशत हो । हालसम्म काठमाडौँ उपत्यकाभित्र ४०१ जनामा कोरोना संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया