मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आरडिटी पोजेटिभ भएका वृद्धको मृत्यु, कोरोना संक्रमणको आशंका

आरडिटी पोजेटिभ भएका वृद्धको मृत्यु, कोरोना संक्रमणको आशंका


 

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरमा रहेका एक ६५ वर्षीय वृद्धको आइतबार बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको आशङ्का गरिएको छ । ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएको डा नीरजकुमार सिंहले बताए ।
 
मृत्यु भएका ती वृद्धको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको र पछि थप उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । शनिबार राति ८ः०० बजे आरडिटी पोजेटिभ आएपछि कोरोनाको शंकास्पद बिरामीका रुपमा गण्डक अस्थायी कोभिड अस्पतालमा लगी उपचार सुरु गरिएको अर्का डा उदयनारायण सिंहले बताए ।
 
शनिबार नै नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका ती वृद्धको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिसकिएको थियो । हालसम्म रिपोर्ट आएको छैन । मृत्यु भएका ती वृद्ध आदर्शनगरका व्यापारी रहेका र मुटु तथा मधुमेह रोगका बिरामी रहेको उपचारमा संलग्न चिकित्सक डा नीरजकुमार सिंहले बताए । मृत्यु भएका वृद्ध भारतीय नागरिक हुन् । वृद्धको शवलाई अस्पतालमामै राखिएको छ । 
 
यसअघि गत शुक्रबार आरडिटी पोजेटिभ भएकी एक १७ वर्षीय युवतीको मृत्यु भएको थियो । युवतीको मरणोपरान्त पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो । यसैबीच, नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । चारै जनालाई सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको भए पनि अवस्था जटिल र गम्भीर रहेको डा सिंहले जानकारी दिए । 
 
सो अस्पतालमा हाल ५४ जना सङ्क्रमित उपचार गराइरहेका छन् । पर्सामा हाल  कोरोना सङ्क्रमितबाट सात जनाको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । कोरोना पोजेटिभबाट बारामा तीन र पर्साका तीन जना छन् भने वीरगञ्जमा बेवारिसे भेटिएका एक कोरोना सङ्क्रमितको भने पहिचान हुन सकेको छैन । 
 
यसैबीच, लकडाउन खुकुलो भएपछि वीरगञ्ज बजारमा मानिसको अत्यधिक भीड हुन थालेकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ । रासस