नेपाल

नेपालमा थपिए १३३ संक्रमित, थप एकसहित ४४ जनाको मृत्यु

नेपालमा थपिए १३३ संक्रमित, थप एकसहित ४४ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १३३ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको ३९८७ जनाको पिसिआर परीक्षणका क्रममा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । जसमा ५३८३ जना संक्रमित उपचाररत छन् । 
 
त्यस्तै कोरोना संक्रमण निको भई १०७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।
 
मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । 
 
नेपालमा शुक्रबार थप एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका एक वृद्धको नारायणी अस्पतालमा उपचारत ८५ वर्षीया महिलाको मृत्यु भएको हो । 
 
निमोनिया र श्वासप्रश्वासमा कठिनाइ आएपछि अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा शुक्रबार निधन भएको मन्त्रालयले जनाएको छ ।  
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ३ लाख ३५ हजार ८२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । 
उनका अनुसार हाल १९ हजार ४४४ जना क्वारेन्टाइनमा र ५३८३ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३९७ जनामा कोरोना संक्रमण देखिएका मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पाँच जना र त्रिभुवन विश्वविद्यालय प्रयोशाला महाराजगञ्जमा गरिएको परीक्षणमा पाँच जनाको परीक्षण पोजेटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए । 
 

Advertisement