मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चीनद्वारा चेङदुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश

चीनद्वारा चेङदुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश


चीनले चेङदुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ। अमेरिकाले टेक्ससको उद्योग-वाणिज्यको केन्द्र रहेको व्यापारिक सहर ह्युस्टनमा रहेको चीनको वाणिज्य दूतावास तीन दिन भित्र बन्द गर्न आदेश दिएको बदलामा चीनले यस्तो निर्णय गरेको बताएको छ। 
 
तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले करीब ५० बर्ष अघि १९७२ मा चीनको सातदिने औपचारिक भ्रमण गरेर शुरु गरेको अमेरिका-चीन सम्वन्ध यतिखेर सबभन्दा कमजोर अवस्थामा पुगेको छ। राष्ट्रपति ट्रम्पले २०१७ मा सत्ता सम्हाले यता दुई देशबीच व्यापार लगायतको विषयले सम्वन्धमा निकै उतार-चढाव आइरहेको भएतापनि कुटनीतिक दृष्टिले यस्तो कठिन अवस्था बनिसकेको थिएन। 
 
चीनले अमेरिकाको बौद्धिक सम्पति चोरी गरेको, जासूसी गरेको आरोप लगाएर अमेरिकाले चीनको ह्युस्टनस्थित वाणिज्यदूतावास (कन्सुलेट) बन्द गर्न आदेश दिएको थियो। 
 
यसैबीच चीनले हङकङ्को सुरक्षा कानूनमा मुख्यभूमि चीनले अपनाएको रणनीति, साउथ-चाइना सी, कोरोना भाइरस लगायतका विषयहरु अमेरिका-चीन व्यापार युद्ध चलिरहेकै बेला थप जटिल ढंगबाट अगाडि आएको छ। अमेरिकी विदेशमन्त्री माइक पम्पेओले हिजो रिचर्ड निक्सन प्रेजिडेन्सीयल लाइब्रेरीबाट अमेरिका-चीन सम्वन्धका बारेमा व्यक्त गरेको बिचारले पनि राष्ट्रपति ट्रम्प चीन मामिलामा निकै कठोरढंगले अगाडि बढ्ने संकेत गरेका छन्। उनले आफ्नो बिचार राख्ने क्रममा चीन सरकार भन्दा चिनियाॅ कम्यूनिष्ट पार्टीका सम्वन्धमा बढी आलोचना गरेका थिए। राष्ट्रपति ट्रम्पको दोश्रो कार्यकालका लागि चुनाव हुन चार महिनाभन्दा कम समय बाॅकी रहेको बेला अमेरिका-चीन सम्वन्धमा आएको यो तनावलाई ट्रम्पले आफ्नो चुवावी दाउपेच बनाउन खोजेको उनका विपक्षीहरुले आरोप लगाएका छन्। 
 
कन्सुलेट बन्द गर्नेस्तरमा झरेको अमेरिका-चीन सम्वन्ध आउने दिनमा अझै कठिन हुॅदै जाने निश्चित जस्तै छ। विदेशमन्त्री पम्पेओको हालैको युरोप भ्रमण पनि आफ्नो युरोपेली साझेदारहरुलाई चीन बिरुद्ध एकताबद्ध बनाउने रणनीति अन्तर्गत नै भएको थियो भन्ने अझ प्रष्ट हुॅदै गइरहेको छ। 
 
हङकङ्को मामिलामा चीनको पछिल्लो नीतिको बिरोध स्वरुप बेलायतले आफ्नो पूर्व उपनिवेश हङकङ्को करीब ३० लाख जनसंख्यालाई बेलायती नागरिकता लिनसक्ने बाटो सहज बनाउने घोषणा गरिसकेको छ। यसका अलावा अमेरिकी दबावमा चिनियाॅ प्रविधी कम्पनी हुवावेसंग गरेको फाइभ-जी बिस्तार परियोजनाबाट फिर्ता हुने निर्णय पनि बेलायतले हालै गरेको छ। 
 
अमेरिका-चीन सम्वन्ध चीनको अमेरिकी कन्सुलेट बन्द गर्ने जबाफी कार्बाही पछि कसरी अगाडि बढ्ने हो अहिले नै अनुमान गर्न  सहज नभएपनि अब तत्काल मत्थर भइहाल्ने अवस्थामा पनि नरहेको संचार माध्यमहरुमा चर्चा भएको छ। 
 
(नयाॅ विकसित घटनाक्रमहरुलाई पछि अपडेट गरिनेछ-सम्पादक)
 
तस्बिर: सामाजिक संजाल