मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार १६७ संक्रमित थपिए, २१३ जना घर फर्किए

बिहीबार १६७ संक्रमित थपिए, २१३ जना घर फर्किए


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४९८१ जनाको पिसिआर परीक्षणका क्रममा १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । जसमा ६०५६ जना संक्रमित उपचाररत छन् । 
 
मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । धनकुटा,  भोजपुर, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ । गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकैदिन २१३ जना कोरोनामुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ११ हजार २४९ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ६४.८५ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।  
 
बिहीबार देखिएका सङ्क्रमितमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका दुई र सुनसरीका चार, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका दुई, उदयपुरका एक र इलामका ६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका तीन र ओखलढु्ङ्गाका १५ जना रहेको प्रवक्ता डा गौतमले जानकारी दिए । 
 
उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २६, नारायणी अस्पताल वीरगञ्जमा पर्साका दुई, बाराका एक र रौतहटका ६, भरतपुर अस्पताल प्रयोगशालामा धनुषाका एक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौँका एक जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ । 
 
यसैगरी कीटजन्य रोग अनुसन्धान तालिम केन्द्र प्रयोगशाला हेटौँडामा नवलपरासी पूर्वका १७, रौतहटका ६ र मकवानपुरका तीन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका दुई र स्याङजाका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देही र प्यूठानका एक÷एक तथा भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका आठ, सुर्खेतका दुई, बर्दिया र दाङका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 
 
यस्तै, पिसिआर प्रयोगशाला दैलेखमा दैलेखका ६, चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुम पश्चिमका एक, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका एक, सल्यान र जाजरकोटका दुई/दुई, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मुगुका एक, डडेल्धुरा अस्पतालमा डडेल्धुराका आठ तथा सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका चार, कैलाली र कञ्चनपुरका १४/१४ र बझाङका एक जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए । 
 
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट परहवा नगरपालिका–७ का ३६ वर्षीय पुरुष रहेका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 
 
प्रवक्ता गौतमका अनुसार हालसम्म ३ लाख ३ हजार ८१० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । 
 
उनका अनुसार हाल २५ हजार ५०० जना क्वारेन्टाइनमा र ६०५६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३५० कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।