काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा ३६४८ जनाको नमुना परीक्षणका क्रममा ७० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।
मन्त्रालयका अनुसार २८ जिल्लामा संक्रमित भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोक र दाङमा पाँच / पाँच, सुनसरी, उदयपुर, स्याङ्जा, तनहुँ र कञ्चनपुरमा चार / चार, मोरङ, काठमाडौँ, धादिङ, सर्लाही, बागलुङ र सुर्खेतमा तीन / तीन, झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा दुई / दुई, सिरहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछाममा एक / एक जनामा संक्रमण पुष्टि भएको छ ।
महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये ४३१ जना कोरोनामुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ८४४२ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ५०.५ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका १० शंखमुलका ६० वर्षीय पुरुष र सिन्धुपाल्चोक, पाँचपोखरी-६ का ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा र गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरुषको केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ७९ हजार ५९९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल २४ हजार ९७ जना क्वारेन्टाइनमा र ८२३९ जना आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया