मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

जाजरकोटको पहिरोमा पाँचको शव फेला, दस बेपत्ता

जाजरकोटको पहिरोमा पाँचको शव फेला, दस बेपत्ता


जाजरकोट । बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । नौ जना जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । 
 
बारेकोटमा आठ घर पहिरोले पुरेको छ । बारेकोट–४ जिरी सार्कीटोलमा गएराति पहिरो गएर दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये पाँच जनाको शव फेला परेको छ । पहिरोमा परी ५२ वर्षीय गोपाल सार्की र उहाँका ११ वर्षका छोरा अर्जुन सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ ।
 
त्यस्तै, कलु सार्की (दिदी) को घरमा पाहुना आएका कुशे गाउँपालिका–९ चौताराका २० वर्षीय डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । 
 
अर्को एक जना शवको पहिचान खुल्न नसकेको उनले बताए । पहिरोमा बेपत्ता अन्य सात जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । 
 
पहिरोले बारेकोट–४ सार्कीगाँउका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा भएको घटनामा पाहुन आएका दुई जनासहित सात जना अझै बेपत्ता छन् । 
 
त्यस्तै, बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बाढीमा बेपत्ता भएका छन् । रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानीयवासीले बाढीबाट उद्धार गरेका छन् । 
 
रामचन्द्र गम्भीर घाइते भएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए । त्यस्तै जुनिचाँदे गाउँपालिका–११ चैतेका डिल्लीबहादुर चदारा वडा नं ३ स्थित सानाखोलामा लडेर खोलामा पर्दा बेपता भएका छन् । 
 
प्रहरी नायब उपरीक्षक श्रेष्ठले घटनास्थलमा टेलिफोन नलाग्ने र प्रहरी सञ्चार सेटले समेत काम नगर्दा सूचना सङ्कलनमा समस्या भएको उनले बताए । 
 
त्यस्तै, बारेकोट–४ का लालबहादुर नेपाली पहिरोमा परी गम्भीर घाइते भएका छन् । पहिरोले घर भत्काएको र भाग्ने क्रममा उनी घाइते भएका हुन् । 
 
उनको उद्धारका लागि हेलिकप्टर पठाउन खोजेको भए पनि खराब मौसमका कारण हेलिकप्टर उड्न सकेको छैन । गएराति परेको अविरल वर्षात्ले बारेकोटका विभिन्न बस्ती जोखिममा परेका छन् । 
 
पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको बारेकोट गाउँपालिका–४ की अध्यक्ष सिर्जना बस्नेतले बताए । घटनास्थल सदरमुकाम खलङ्गादेखि दुई दिन पैदल दूरीमा २५ कोस उत्तरपूर्वमा पर्छ ।
 
दुई गाउँ जोखिममा 
 
बारेकोट गाउँपालिका–४ मैना, वडा नं। ५ कालाखोली, कोट्ली, बयाल र तोलखानाका सर्वसाधारणहरुलाई सुरक्षित रुपमा बस्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । 
 
रागाँचौथारी हिमालबाट बग्ने खोलाले कटान गर्दा मैना गाउँ जोखिममा परेको छ । सर्वसाधारण जङ्गलमा पाल टाँगेर बसेको स्थानीय धीरेन्द्र बस्नेतले जानकारी दिए । 
 
त्यस्तै, जिल्लाका सबै सडक अवरुद्ध भएका छन् । सदरमुकामलगायत अन्य ठाउँबाट गएको टोली घटनास्थलमा पुग्न अझै सकेको छैन । राहत र उद्धारका लागि आउने भनिएको हेलिकप्टर खराब मौसमका कारण आउन नसकेको हो । 
 
मौसमले साथ नदिँदा समस्या भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । हेलिकप्टर तयारी अवस्थामा भए पनि मौसमले साथ नदिँदा समस्या भएको छ । 
 
गम्भीर घाइतेको उपचारमा समस्या
 
पहिरोमा परी बारेकोट गाउँपालिका गोठगाउँ–१ र वडा ६ का दुई जनाको उपचारका लागि समस्या भएको छ । मौसम सफा नहुँदा हेलिकप्टरबाट उद्धार हुनसकेको छैन । रासस

शेयर गर्नुहोस:

0
Shares