काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा २४ घन्टामा ४८०५ जनाको नमुना परीक्षणका क्रममा ११८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।
यसैबीच, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा २८, ललितपुरमा १३ र भक्तपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका छ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौँका १० र ललितपुरका सात जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३५ जनाको मृत्यु भएको छ । डा गौतमका अनुसार शुक्रबार १२० जना कोभिड–१९ सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म ८०११ जना सङ्क्रमणबाट मुक्त भएका छन् । जम्मा संक्रमितमध्ये ४८.१ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।
मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला गरी छ वटा जिल्ला कोरोनामुक्त भएका छन् । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ७५ हजार ९५१ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल २३ हजार ९१० जना क्वारेन्टाइनमा र ८६०३ जना आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया