मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि


काठमाडौँ । सातौँ सङ्घनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपालको थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व भिक्षु ज्ञानपूर्णिकको ललितपुरस्थित शङ्खमूल घाटमा आज बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । 
 
स्व भिक्षु ज्ञानपूर्णिकलाई कार्यवाहक सङ्घ नायक भिक्षु बोधिसेन महास्थवीर र अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले दागबत्ती दिएपछि उहाँका आफन्तजन श्रीदेवी गुभाजु, प्रदीप बज्राचार्य र रम्भा शाक्यले अग्नी संस्कार गर्नुभएको भिक्षु निग्रोधले जानकारी दिए । अग्नि संस्कारअघि उहाँको पार्थिव शरीरमा पूर्वमन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए । 
 
सो अवसरमा नेपाली सेनाको एक टुकडीले स्व भिक्षु ज्ञानपूर्णिकलाई सम्मानस्वरुप सलामी अर्पण गरेको थियो । उनको अन्त्येष्टिमा सांसदहरु सुजिता शाक्य, बीना श्रेष्ठ र शोभा शाक्य, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनलगायत सहभागी थिए । 
 
यसअघि तीनकुनेस्थित विश्वशान्ति विहारबाट भिक्षु ज्ञानपूर्णिकको शव यात्रा निकालिएको थियो । शङ्खमूल घाटमा बौद्ध पाठ गरिएको थियो । उनको ८१ वर्षको उमेरमा शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको थियो । मिर्गौला रोगबाट पीडित उनी नियमित डायलासिस गराउँदै आएका थिए । भिक्षु ज्ञानपूर्णिकलाई श्रद्धाञ्जलि दिन तीन दिनसम्म उनको पार्थिव शरीर विश्वशान्ति विहारमा राखिएको थियो । 
 
भिक्षु ज्ञानपूर्णिकले बुद्ध धर्मबारे ६० भन्दाबढी किताब लेखेका छन् । उनी धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत रहेका थिए । उनले थाइल्याण्डको महाचुलालोङ्कर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका थिए । भिक्षु अग्गमहापण्डित थेरवाद बुद्ध धर्मको सातौँ सङ्घनायकसमेत थिए । बुद्धधर्मसम्बन्धी दर्जनौँ ग्रन्थ उनले नेपाल भाषा, नेपाली र अङ्ग्रेजीमा अनुवाद गरेका छन् । 
 
भिक्षु ज्ञानपूर्णिकको जन्म १९९६ साल मङ्सिर ६ गते पाल्पाको तानसेनमा बुबा सूर्यलाल शाक्य र आमा चन्द्रमाया शाक्यको कान्छो छोराका रुपमा भएको थियो । भिक्षु हुनुअघि उनको नाम हिरालाल शाक्य थियो । उनी लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतको थेरवादी बौद्ध एकेडेमीको संरक्षक र संस्थापक अध्यक्षसमेत थिए । रासस