काठमाडौँ । नेपालमा बुधबार एकैदिन ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ६२९ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा हालसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । जसमा १०९४ महिला र ९६३४ पुरुष रहेका छन् ।
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो ।
नेपालमा बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५ र मंगलबार ५३८ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो ।
नेपालमा हालसम्म कोरोना भाइरसका कारण २४ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ११४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
जसमा ८ महिला र १०६ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २३३८ पुगेको छ । जसमा १९७ महिला र २१४१ पुरुष रहेका छन् ।
बुधबार डिस्चार्ज हुनेमा जलेश्वर अस्पताल महोत्तरीबाट एक महिला र १८ पुरुष, कोभिड–१९ अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पताल सिन्धुलीबाट तीन पुरुष रहेका छन् ।
यस्तै चितवनस्थित भरतपुर अस्पतालबाट नवलपरासी (पूर्व)का एक पुरुष र नवलपरासी (पश्चिम)का दुई पुरुष, चितवनका पाँच महिला र १३ पुरुष, कपिलवस्तुका एक महिला रहेका छन् ।
यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका चार पुरुष, मोरङका १८ पुरुष, सुनसरीका एक महिला र चार पुरुष तथा तेह्रथुमका एक पुरुष रहेका छन् ।
डिस्चार्ज हुनेमा दमौली अस्पताल तनहुँका एक पुरुष, धौलागिरि अस्पताल बाग्लुङका चार पुरुष, गोरखा अस्पताल गोरखाबाट एक पुरुष, जिपी कोइराला शुक्लागण्डकीबाट छ पुरुष र कालिका अस्पताल स्याङ्जाबाट १० पुरुष रहेका छन् ।
पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट छ हजार ८२८ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घन्टामा १२ हजार ११२ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार ७८ हजार ६३९ जना क्वारेन्टाइनमा र आठ हजार ३६६ जना आइसोलेसनमा रहेका छन् ।
देशका रसुवाबाहेकको ७६ जिल्लामा कोरोना भाइरसको सक्रमण फैलिएको छ । प्रवक्ता डा गौतमका अनुसार देशभर हालसम्म एक लाख ९३ हजार १९४ जनाको पिसीआर विधिबाट परीक्षण गरिएको छ भने दुई लाख ८३ हजार ६९६ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
प्रतिक्रिया