नेपाल

सोमबार ५३५ सहित कोरोना संक्रमितको संख्या ९५६१ पुग्यो, रसुवाबाहेक ७६ जिल्लामा संक्रमण फैलियो

सोमबार ५३५ सहित कोरोना संक्रमितको संख्या ९५६१ पुग्यो, रसुवाबाहेक ७६ जिल्लामा संक्रमण फैलियो


काठमाडौँ । नेपालमा सोमबार थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ५३५ जनामा संक्रमण देखिएको हो । 
 
पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  योसँगै सङ्क्रमितको सङ्ख्या ९५६१ पुगेको छ । जसमा ८९४ महिला र ८ हजार ६६७ पुरुष रहेका छन् ।  
 
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । नेपालमा बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना र आइतबार ४२१ जनामा कोरोना संक्रमित थपिएका थिए ।
 
नेपालमा हालसम्म २३ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ३७० जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा जसमा ३२ महिला र ३३८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २१४२ पुगेको छ ।  
 
पछिल्लो २४ घन्टामा ६ हजार १९८ गरी सोमबारबारसम्म पिसीआर विधिबाट १ लाख ८१ हजार ३७१ जनाको परीक्षण गरिएको छ । यस्तै, आरडिटी विधिबाट दुई लाख ६८ हजार १०३ जनाको परीक्षण गरिएको छ । 
 
देशका रसुवाबाहेक ७६ जिल्लामा कोरोना भाइरसको सक्रमण फैलिएको प्रवक्ता डा गौतमले जानकारी दिए ।