काठमाडौँ । नेपालमा शनिबार थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ३३१ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । जसमा ४९ महिला र २८२ पुरुष छन् ।
यो सँगै सङ्क्रमितको सङ्ख्या ८६०५ पुगेको छ । जसमा ७५६ महिला र सात हजार ८४९ पुरुष रहेका छन् ।
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो ।
नेपालमा हालसम्म २२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १५७५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ७ हजार ४१६ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६९ हजार १ सय ६५ जनाको परीक्षण गरिएको छ ।
देशका ७४ जिल्लामा कोरोना भाइरसको सक्रमण फैलिएको छ । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी र गुल्मीमा १८÷१८ तथा पाल्पा र रुपन्देहीमा १७/१७ जना सङ्क्रमित थपिएका हुन् ।
यस्तै, बाँकेमा १४, डडेल्धुरामा १२, सर्लाहीमा नौ, धादिङ, प्यूठान र मोरङमा आठ/आठ, बर्दिया, रौटहट र भक्तपुरमा सात÷सात, बारा र दाङमा चार÷चार, रामेछापमा तीन, सुनसरीमा दुई, काठमाडौँ, झापा, नवलपरासी पश्चिम, स्याङ्जा र रुकुम पश्चिममा एक÷एकजना थपिएका छन् ।
कोभिड–१९ को सङ्क्रमणबाट रौतहट, दैलेख, कपिलवस्तु, महोत्तरी र सर्लाही बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २०० बढी सङ्क्रमित हुनेको जिल्लाको सङ्ख्या पाँच र १०० भन्दा बढी सङ्क्रमित हुनेको सङ्ख्या १६ पुगेको छ । हालसम्म रसुवा, ओखलढुङ्गा र मुस्ताङमा भने कोरोना सङ्क्रमण देखिएको छैन ।








प्रतिक्रिया