काठमाडौँ । नेपालमा बिहीबार थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ६७१ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ४० महिला र ५४६ पुरुष रहेका छन् ।
नेपालमा शुक्रबार ४४८, शनिबार २७३, आइतबार ४२५, सोमबार ५५१, मंगलबार ३८०र बुधबार ५८६ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबार थपिएकासँगै संक्रमितको संख्या ७८४८ पुगेको छ ।
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । कुल संक्रमितमध्ये ५३९ महिला र ६ हजार ८३८ पुरुष रहेका छन् ।
यसैबीच, कोभिड–१९ का कारणले थप दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहा २ का ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
नेपालमा बिहीबार देखिएको संक्रमण हालसम्मकै धेरै हो । यसैबीच, बिहीबारबार १९ जना पुरुष डिस्चार्ज भएका छन् । यससँगै निको भई घर फर्किनेको संख्या ११८६ जना पुगेका छन् । हालसम्म एक लाख ५५ हजार ५१८ जनाको पिसिआर विधिबाट र दुई लाख ४३ हजार ७५ जनाको आरडिटी परीक्षण गरिएको छ ।
नेपालमा हालसम्म ७४ बढी जिल्लामा कोरोना संक्रमण फैलिएको छ । एकैदिन ५ हजार ७४६ जनाको पिसिआर परीक्षण गरिएका प्रवक्ता गौतमले जानकारी दिए ।
बिहीबारसम्म देशभरका क्वारेन्टाइनमा १ लाख १६ हजार २१५ जना रहेका छन् भने आइसोलेसनमा ६६८४ जना उपचाररत रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
प्रतिक्रिया