मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा एकैदिन ५८६ सहित ७१७७ संक्रमित, २० जनाको मृत्यु

नेपालमा एकैदिन ५८६ सहित ७१७७ संक्रमित, २० जनाको मृत्यु


काठमाडौँ । नेपालमा बुधबार थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ५८६ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ४० महिला र ५४६ पुरुष रहेका छन् । 
 
नेपालमा शुक्रबार ४४८, शनिबार २७३, आइतबार ४२५, सोमबार ५५१ र मंगलबार ३८० जनामा संक्रमण पुष्टि भएको थियो । 
 
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बुधबार थपिएकासँगै संक्रमितको संख्या ७१७७ पुगेको छ । नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । कुल संक्रमितमध्ये ५३९ महिला र ६ हजार ८३८ पुरुष रहेका छन् ।
 
यसैबीच, कोभिड–१९ का कारणले थप एक जनाको मृत्यु भएको छ । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजापुर गाउँपालिकाका­ ६ की ४६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीसँगै कोभिड–१९ का कारणले मृत्यु हुनेको संख्या २० पुगेको छ ।
 
मिर्गौलासम्बन्धी रोग लागेकी महिलाको गत जेठ ३० गते उपचारका लागि अस्पतालमा भर्ना भएकामा असार १ गते निधन भएको मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
 
उनका अनुसार ती महिलाको असार १ गते स्वाब संकलन गरी भेरी अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको थियो । 
 
नेपालमा बुधबार देखिएको संक्रमण हालसम्मकै धेरै हो । यसैबीच, बुधबार नौ जना पुरुष डिस्चार्ज भएका छन् । प्रवक्ता डा गौतमका अनुसार महेन्द्र गेनाई अस्पताल सिराहामा छ जना, नारायणी अस्पताल वीरगञ्जमा रौतहटका दुई जना र पर्साका एक जना रहेका छन् । 
यससँगै निको भई घर फर्किनेको संख्या ११६७ जना पुगेका छन् । जसमध्ये ११२ महिला र १०५५ पुरुष रहेका छन् । हालसम्म एक लाख ४९ हजार ७७२ जनाको पिसिआर विधिबाट र दुई लाख ३३ हजार ९४३ जनाको आरडिटी परीक्षण गरिएको छ । 
 
नेपालमा हालसम्म ७३ बढी जिल्लामा कोरोना संक्रमण फैलिएको छ । बुधबारसम्म देशभरका क्वारेन्टाइनमा १ लाख २५ हजार ७९८ जना रहेका छन् भने आइसोलेसनमा ५९९० जना उपचाररत रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।  

शेयर गर्नुहोस:

0
Shares