मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एकैदिन ४५१ सहित संक्रमितको संख्या ६२११ पुग्यो, १०४१ जना डिस्चार्ज

एकैदिन ४५१ सहित संक्रमितको संख्या ६२११ पुग्यो, १०४१ जना डिस्चार्ज


काठमाडौँ । नेपालमा सोमबार थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४५१ जनामा संक्रमण पुष्टि भएको हो ।
 
जसमा ३५ महिला र ४१६ पुरुष रहेका छन् । शुक्रबार अत्यधिक ४४८ जनामा संक्रमण देखिएको थियो । यस्तै, आइतबार ४२५ जना संक्रमित थपिएका थिए । 
 
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सोमबार थपिएकासँगै संक्रमितको संख्या ६२११ पुगेको छ । नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो ।
 
कुल संक्रमितमध्ये ४७१ महिला र ५ हजार ७४० पुरुष रहेका छन् । आइतबार थप एक जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृत्यु हुनेमा गुल्मी धुर्कोक गाउँपालिका–४ का ३६ वर्षीय पुरुष रहेका थिए ।  
 
उनका अनुसार हालसम्म कोरोना संक्रमण ७३ जिल्लामा फैलिएको छ । यसैगरी, सोमबार ६७ जना निको भई घर फर्किएका छन् । यससँगै हालसम्म १०४१ जना बिरामी निको भइरहेका छन् । जसमा १०४ महिला र ९३७ पुरुष रहेका छन् । 
 
मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा हालसम्म १ लाख ३८ हजार ६८३ जनाको पिसिआर विधिबाट र २ लाख १९ हजार ३३६ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
 
यसैबीच, सोमबारदेखि पोखरामा कोभिड–१९ को पिसिआर मेसिन जडान गरी थप एक प्रयोगशाला स्थापना गरी परीक्षण थालिएको छ ।
 
योसँगै पोखरामा दुई पिसिआर विधिबाट प्रयोगशाला स्थापना गरिएको छ भने देशभर २२ प्रयोगशालाबाट पिसिआर परीक्षण गरिने उनले जानकारी दिए ।  
 
सोमबारसम्म देशभरका क्वारेन्टाइनमा एक लाख ३३ हजार ८२९ जना रहेका छन् भने ५१५१ जना आइसोलेसनमा उपचाररत छन् ।
 
यसैबीच, मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थासँग कोभिड–१९ का बिरामीको उपचारमा समन्वय र सहजीकरण गर्न मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधवप्रसाद लम्सालको संयोजकत्वमा एक चिकित्सक टोली गठन गरेको प्रवक्ता डा गौतमले जानकारी दिए ।