मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

रुकुम घटनाका अभियुक्त ३४ जनाविरुद्ध अभियोग दर्ता

रुकुम घटनाका अभियुक्त ३४ जनाविरुद्ध अभियोग दर्ता


रुकुम । चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध आइतबार अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो ।
 
पक्राउ परेका सोती गाउँका २८ र फरार पाँच जनासहित गरी ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत गरी तीन कसूरमा अभियोग दर्ता भएको हो । त्यस्तै पक्राउ परेका जाजरकोटका एक जनाविरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको छ ।  
 
पक्राउ परेका र फरार रहेकासमेत गरी ३४ जनामध्ये ३३ जनालाई तीन र एक जनालाई तीनवटै कसुरमा मतियार रहेको अभियोग लागेको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए । 
 
उनका अनुसार ३३ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार जन्मकैद, दफा ४१ (क) (ग) बमोजिम आजीवन काराबास र जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०६८ को दफा ३ ९१० र दफा ४, ५ को कसूरमा दफा ७ ९१० क बमोजिम कैद सजायको माग गरिएको छ । 
 
प्रतिवादी इन्द्रबहादुर मल्लको हकमा भने अपराधसंहिताको दफा ३६ को कसूरमा दफा ३३ (ख) बमोजिम सजायको माग दाबी गरिएको छ । घटना भएको २३ दिनपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो । 
 
आइतबार अभियोग दर्ता भएपछि अब सोमबारदेखि बयान सुरु हुने स्रेस्तेदार बोहराले बताए । पक्राउ परेकामध्ये दुई बालबालिकासमेत छन् । उनीहरुको बयान सोमबारदेखि सुरु हुने र बाँकीको बयान मंगलबारदेखि सुरु हुने स्रेस्तेदार बोहराको भनाइ छ । 
 
घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले छुट्टाछुट्टै मितिमा सोती गाउँका २८ र जाजरकोटका एक गरी २९ जनालाई पक्राउ गरेको छ भने पाँच जना अझै फरार छन् । 
 
पीडितले दिएको किटानी जाहेरीका आधारमा २० र अनुसन्धानका क्रममा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । फरार पाँच जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । सोती घटनामा छ जनाको निधन भएको थियो । रासस

शेयर गर्नुहोस:

0
Shares