मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

एकैदिन ४२५ सहित संक्रमितको संख्या ५७६० पुग्यो, थप एक जनाको मृत्यु

एकैदिन ४२५ सहित संक्रमितको संख्या ५७६० पुग्यो, थप एक जनाको मृत्यु


काठमाडौँ । नेपालमा आइतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।
 
जसमा ५० महिला र ३७५ पुरुष रहेका छन् । शुक्रबार अत्यधिक ४४८ जनामा संक्रमण देखिएको थियो । 
 
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबार थपिएकासँगै संक्रमितको संख्या ५७६० पुगेको छ ।
 
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । कुल संक्रमितमध्ये ४३६ महिला र ५ हजार ३२४ पुरुष रहेका छन् । 
 
आइतबार थप एक जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृत्यु हुनेमा गुल्मी धुर्कोक गाउँपालिका–४ का ३६ वर्षीय पुरुष रहेको प्रवक्ता डा गौतमले जानकारी दिए । 
 
उनका अनुसार आइतबार रुकुमपूर्व थप भई ७३ जिल्ला पुगेको छ । यसैगरी, आइतबार ६१ जना निको भई घर फर्किएका छन् । यससँगै हालसम्म ९७४ जना बिरामी निको भइरहेका छन् । जसमा ९७ महिला र ८७७ पुरुष रहेका छन् । 
 
मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा पछिल्लोपटक ५६८९ जनामा पिसिआर परीक्षण गरिएको जनाएको छ ।
 
नेपालमा हालसम्म १ लाख ३३ हजार ३७७ जनाको पिसिआर विधिबाट र २ लाख १० हजार ७२१ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । पछिल्लो चौबिस घन्टामा २० हजार १३९ जनामा आरडिटी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 
 
आइतबारसम्म देशभरका क्वारेन्टाइनमा एक लाख ४३ हजार ६४१ जना रहेका छन् भने ४७६७ जना आइसोलेसनमा उपचाररत छन् । 
 

शेयर गर्नुहोस:

0
Shares