जनकपुर । प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या दैनिकरूपमा थपिँदै गएको छ । पछिल्लो २४ घन्टामा २९ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या एक हजार ६०२ पुगेको छ ।
यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी गराए ।
यस प्रदेशबाट पछिल्लो २४ घन्टामा ८२ संक्रमित उपचारपश्चात निको भएर घर फर्केका छन् । जसअनुसार रौतहटको गौर नगरपालिकास्थित गौर नर्सिङ क्याम्पसमा सञ्चालित आइसोलेसनबाट चार महिलासहित १७ निको भएर घर फर्केका छन् ।
त्यस्तै, गरुडा नगरपालिकामा नेपाल प्रहरी विद्यालयको आइसोलेसन कक्षबाट ईश्नाथ नगरपालिकाका तीन महिलासहित ४०, बोधीमाई नगरपालिकाका तीन, मौलापुर नगरपालिकाका चार, कटहरिया नगरपालिकाका तीन र राजदेवी नगरपालिकाका एक महिलासहित तीन जना निको भएर घर फर्केका छन् ।
अहिलेसम्म यस प्रदेशबाट ३८१ स्वस्थ्य भएर घर फर्किसकेका छन् । यसैबीच, यस प्रदेशमा ३० हजार ५४३ को स्वाब संकलन गरिएकामा १३ हजार ८४२ को रिपोर्ट नेगेटिभ आएको छ भने १५ हजार ९९ जनाको स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ ।
त्यस्तै १३ हजार ७१६ को आरडिटीबाट परीक्षण गर्दा ६३९ को रिपोर्ट पोजिटिभ र १३ हजार ७७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस प्रदेशमा ४२८ क्वारेन्टाइनमा १८ हजार ८९४, होम क्वारेन्टिनमा आठ हजार ८१२ र आइसोलेसनमा ७०१ जना बसेका छन् ।
प्रतिक्रिया