बिश्व घटना

भारतमा एकैदिन १२ हजार बढी संक्रमित, ३८८ को मृत्यु

भारतमा एकैदिन १२ हजार बढी संक्रमित, ३८८ को मृत्यु


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण एकैदिनमा १२ हजार ३७५ जना संक्रमित भएका छन् ।
 
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा १२ हजार ३७५ जना संक्रमित भएको पुष्टि भएको हो । 
 
योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ८८ हजार ६१ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
 
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घन्टामा ३८८ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ११७ पुगेको छ । 
 
भारतमा अहिले पनि १ लाख ३८ हजार ५८० जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४१ हजार ३६४ रहेको मन्त्रालयले जनाएको छ । 
 
कोराना भाइरसको संक्रमण भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिँदै आएको छ । महाराष्ट्रमा मात्रै बिहीबारसम्म ९४ हजार ४१ जना संक्रमित भएका छन् ।  
 
दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३६ हजार ८४१ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३२ हजार ८१० जना संक्रमित रहेका छन् । एएनआई