काठमाडौँ । कोरोना भाइरसका संक्रमित ७२ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार ३२३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २९२ पुरुष र ३१ महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति चार हजार ८५ पुगेको छ । कुल संक्रमितमध्ये तीनहजार ७९८ जना पुरुष र २८७ जना महिला रहेका छन् ।
मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार मंगलबार ९६ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या ५८४ पुगेको छ । नेपालमा हालसम्म १५ जना संक्रमितले ज्यान गुमाएका छन् ।
चितवनको भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा चार महिलासहित चितवनका २४ जना रहेका छन् ।
यस्तै, नवलपुरका एक महिलासहित तीन, धादिङ, कपिलवस्तु र सप्तरीका एक–एक जना महिलामा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले पुष्टि गरे ।
यसैगरी, जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २४ जनामा पुरुषमा कोरोना संक्रमण देखिएको छ । जसमा म्याग्दीका एक, नवलपुरका १२ र बागलुङका ११ जना रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा तीन जना पुरुष र कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा इलामका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका एक र सप्तरीका एक महिलासहित छ जनामा कोरोना देखिएको छ ।
यसैगरी, जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा धनुषाका दुई महिलासहित २१ जना रहेका छन् ।
महोत्तरीमा एक महिलासहित १९ जनाको कोरोना पोजेटिभ आएको छ भने सर्लाहीका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी, महोत्तरीमा सात महिलासहित ३१ जना, नवलपरासी पश्चिमका १२ जना पुरुष, नुवाकोटका दुई जना पुरुष, रौतहटका २१ जना पुरुष, सर्लाहीका १६ जना पुरुष र सिरहाका १२ जना पुरुष रहेका छन् ।
यस्तै, राप्ती स्वास्थ्य प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ६ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई महिलासहित नौ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक महिलासहित दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रादेशिक अस्पताल सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा सल्यानमा १२ जना पुरुष र सुर्खेतका दुई महिला र दुई पुरुष रहेका छन् ।
यस्तै, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना देखिएको छ । जसमा दार्चुलाका १० जना पुरुष रहेका छन् । कञ्चनपुरका दुई महिलासहित १९ जना, डडेलधुरामा एक महिलासहित सात जना र कैलालीका एक जना पुरुष रहेका छन् ।
यस्तै, प्रादेशिक अस्पताल रुपन्देहीको प्रयोगशालामा गरिएको २२ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । जसमा रुपन्देहीका २० र कपिलवस्तुका दुई जना रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा २४ जना पुरुष धनुषाका रहेका छन् । कपिलवस्तुका चार महिलासहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया