नेपाल

एकैदिन ३० संक्रमित बढेपछि चितवन प्रशासनले लकडाउन कडा पार्ने

एकैदिन ३० संक्रमित बढेपछि चितवन प्रशासनले लकडाउन कडा पार्ने


चितवन । चितवनमा सोमबार अविश्वसनीय ढंगबाट कोरोना संक्रमित बढेपछि मंगलबारदेखि लकडाउन कडा बनाइने भएको छ । चितवनमा सोमबारमात्रै एकैदिन ३० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएपछि लकडाउनमा थप कडाइ गर्न लागिएको हो ।
 
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले मंगलबारदेखि थप कडा बनाइने बताए ।
 
उनले भने, ‘मंगलबारदेखि लकडाउनमा थप कडाइ गर्दैछौँ । लकडाउनको पालना गर्न सबै चितवनवासीमा आग्रहसमेत गर्दछु ।’ 
 
प्रजिअ भट्टराईले लकडाउन उल्लंघन गर्दै अघि बढे अवस्था भयावह हुन सक्ने भएकाले सचेत हुन सबैलाई आग्रह गरे । उनले सवारी सञ्चालन तथा पसल खोल्न पनि थप कडाइ गरिने बताए । 
 
केही दिनयता चितवनमा सर्वसाधारणले लकडाउनको स्वतःस्र्फूत उल्लंघन गरी निर्वाधरुपमा सवारी साधन चलाउने, मानिसको अनावश्यक भीड बढ्ने र पसलहरु खुल्नेक्रम बढेको थियो । 
 
चितवन प्रशासनले नारायणी पुलमा मानिसको आवतजावत गर्न भने रोक लगाएको थियो । सोमबार ह्वात्तै संक्रमण बढेपछि चितवन प्रवेश गर्ने नाकालगायतमा कडाइ गर्ने भएको हो ।  
 
सोमबार चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा सुरुमा २३ र थप ७ जना गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये नवलपुर जिल्लाका ५ र धादिङका एक जना रहेका छन् ।