काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट सोमबार थप एक जनाको मृत्यु भएको छ । स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै हालसम्म १४ जनाको कोभिड–१९ को कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जना थप संक्रमित भएका छन् । जसमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् । यससँगै कुल संक्रमितको संख्या तीन हजार ७६२ जना पुगेको छ । जसमा तीन हजार ५०६ पुरुष र २५६ महिला रहेका छन् ।
यसैबीच, सोमबार २१ जना कोभिड–१९ संक्रमणबाट निको भई घर फर्किएका छन् । जसमध्ये बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड–१९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् ।
सबै बाँके नरैनापुरका १३ वर्षदेखि ५२ वर्षका पुरुष १५औँ दिनदेखि २०औँ दिनपछि क्यान्सर अस्पतालबाट डिस्चार्ज भएका हुन् । यस्तै, युनिफाइड अस्पतालबाट एक जना २३ वर्षकी महिला ५ दिनमा डिस्चार्ज भएकी हुन् ।
यससँगै विभिन्न अस्पतालबाट निको भई घर फर्किनेको संख्या ४८८ पुगेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया