मेरिल्याण्ड । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण आइतबारसम्ममा विश्वभर चार लाख ५ हजार ३३३ व्यक्तिको मृत्यु भएको छ भने ७० लाख ३७ हजार जना संक्रमित भएका छन् ।
जोन अकिन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरणअनुसार विश्वभर चार लाख ३ हजार ३३३ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख १२ हजार २०५ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने १९ लाख ९६ हजार ४९७ भन्दा बढी सङ्क्रमित रहेका छन् ।
सङ्क्रमणका हिसाबले दोस्रो धेरै सङ्क्रमित ब्राजिलमा छ लाख ७७ हजार ९४९ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा आइतबारसम्म कोभिड–१९ बाट कुल ३६ हजार ६५ पुगेको बताइएको छ ।
त्यसैगरी रूसमा चार लाख ६७ हजार ६७३ र बेलायतमा दुई लाख ८८ हजार ३९० व्यक्ति सङ्क्रमित भएका छन् । बेलायतमा कोभिड–१९ सङ्क्रमितमध्ये ४० हजार ५४८ व्यक्तिको मृत्यु भएको छ ।
अहिलेसम्म कोभिड–१९ सङ्क्रमित दोस्रो धेरै व्यक्तिको मृत्यु हुने मुलुक बेलायत भएको छ । रूसमा सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि मृत्यु दर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ अर्थात् पाँच हजार ८५९ व्यक्तिको मृत्यु भएको छ ।
यसैबीच, कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरू इटाली र स्पेनभन्दा अघि आएको छ । भारतमा आइतबारसम्म दुई लाख ५६ हजार ५६३ व्यक्ति सङ्क्रमित भेटिएका छन् भने ७ हजार १७४ हजार व्यक्तिको मृत्यु भएको छ । भारत कोरोनाभाइरस प्रभावित मुलुकहरूको सूचीमा छैठौँ स्थानमा पुगेको छ । एएनआई







प्रतिक्रिया