बेङ्लोर । बेङ्लोरमा आइतबार एक जोडी बैबाहिक जीवनमा बाँधिदै थिए । जबकि त्यतिबेला बेङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागू गरेको थियो ।
कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै आइरहेको छ । भारतमा अहिले चौंथो चरणको लकडाउन छ । यो लकडाउन यही महिनाको अन्त्यसम्मका लागि तय भइसकेको छ ।
सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरे पनि अत्यावश्यक कामका लागि भने लचकता देखाएको छ । यस्तै अत्यावश्यक कामअन्तर्गत वैवाहिक कामलाई पनि मानिएको छ ।
उपयुक्त र पर्याप्त आधारहरु देखाउन सके, अहिले नै गर्नु पर्ने बाध्यात्मक कारण पेश गर्न सकेमा र पहिले नै निर्धारण भएको अवस्थामा सरकारले बैबाहिक कार्यक्रम गर्नका लागि अनुमति दिने गरेको छ ।
यही आधारमा आइतबार कैयौँ जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुलाई भीडभाड नगरी आधारभूत धार्मिक तथा सांस्कृतिक प्रक्रिया पूरा गर्न अनुमति दिइएको छ ।
वैवाहिक कार्यक्रम गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, ५० जना भन्दा बढी सहभागी हुन नपाउने, मास्क र पञ्जा लगाउनुपर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनै पर्ने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।
बैबाहिक कार्यक्रममा सहभागी एक जनाले भने, “हामीले सरकारको निर्देशन र मापदण्डलाई ख्याल गरेर नै २५ जनालाई मात्रै विवाहमा ल्याएका छौँ ।”
वैवाहिक जीवन सुरु गर्न लागेका अधिकांश बेहुला बेहुलीहरुले पनि मास्क लगाएका थिए भने अन्य सहभागीलाई अनिवार्य नै गरिएको थियो ।
वैवाहिक कार्यक्रममा गर्भवती, ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा र १० वर्षभन्दा साना बालबालिकालाई सहभागी गराउन नपाइने व्यवस्था पनि गरिएको छ ।
विवाह गरिएको ठाउँमा सेनिटाइजरको पर्याप्त उपलब्धता र प्रयोग हुनुपर्ने र थर्मल गनमार्फत सबैको ज्वरो नाप्ने व्यवस्था पनि गर्नुपर्ने सरकारले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।
सरकारले तय गरेका मापदण्डहरुलाई अबलम्बन गर्दै धेरै जोडीले लकडाउनका बेलामा पनि बैबाहिक जीवन सुरु गरेका हुन् । उनीहरुको वैवाहिक कार्यक्रमलाई अन्य अवस्थाको भन्दा फरक मानिएको छ । एएनआई
प्रतिक्रिया