वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा कुराकानी भएको छ ।
फोनवार्ताका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत अमेरिकाको एक असल मित्र राष्ट्र भएको बताएका छन् ।
अमेरिकामा राष्ट्रपति ट्रम्पले त्यहाँ रहेका भारतीय अमेरिकीहरुलाई सन्देश दिने क्रममा सो धारणा राखेका हुन् । वासिङ्टनमा सम्वाददाताहरुसँग राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको बताएका थिए ।
त्यसक्रममा राष्ट्रपति ट्रम्पले भारतीय मूलका अमेरिकी नागरिक तथा सम्वाददाताहरुसँग भने, ‘तपाईंहरुका प्रधानमन्त्री नरेन्द्र मोदी मेरा एक असल मित्र हुनुहुन्छ, हाम्रो आजमात्र पनि कुराकानी भएको छ ।’
भारत अमेरिकाको एक असल मित्र राष्ट्र हो– अमेरिकी राष्ट्रपति ट्रम्पले त्यस अवसरमा भने, ‘हामी दुवै देश यतिखेर कोभिडको महामारीका विरुद्धमा लडिरहेका छौँ र हामीले यस महामारीविरुद्धमा विजय प्राप्त गर्नका लागि एक आपसमा सद्भाव र शुभकामना पनि साटासाट गरेका छौँ ।’
अमेरिकाले भारतसँग निकै नजिकको सम्बन्ध कायम गरेर सहमति र सहकार्य गरिरहेको पनि उनले जानकारी दिएको समाचारमा बताइएको छ । राष्ट्रपति ट्रम्पले त्यस अवसरमा अमेरिकामा ठूलो संख्यामा भारतीय नागरिकहरु बसिरहेको र उनीहरु र अमेरिकी नागरिकबीच असल सम्बन्ध पनि रहेको बताएका थिए ।
उनले कोभिडका विरुद्धमा पनि अमेरिका र भारतले आपसमा मिलेर सहकार्यका साथ काम गरिरहेको भन्दै यस महामारीका विरुद्धमा भारतीय र अमेरिकी वैज्ञानिकहरु मिलेर खोप पत्ता लगाउने कार्यमा पनि लागिपरेको जानकारी गराएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प यसैवर्षको फेब्रुअरीमा आफ्ना परिवारसहित भारतको भ्रमणमा आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गत वर्ष अमेरिकाको भ्रमण गरेका थिए ।
कोभिड १९ को महामारी सुरु भएपछि पनि भारतले अमेरिकालाई केही औषधिहरु सहयोग गरेको थियो । त्यस सहयोगले पनि अमेरिका र भारतबीचको सम्बन्ध एक आपसमा सुमधुर बनाएको बताइएको छ ।
यता भारत पनि पछिल्ला केही हप्तामा कोभिडको महामारीको चपेटामा परेको छ । यहाँ आजसम्म ८६ हजार ५९५ जना संक्रमित भएका छन् । त्यहाँ २ हजार ७६० भन्दा बढीको ज्यान गएको बताइएको छ ।
उता अमेरिका यो महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ज्यान जाने नागरिकको संख्या ८८ हजार ५५० जना पुगेका छन् ।
त्यसैगरी, अमेरिकामा मात्र संक्रमणमा पर्ने नागरिकको संख्या १४ लाख ८५ हजार ९१२ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । त्यसैगरी विश्वमा यस संक्रमणबाट ज्यान जानेको संख्या ३ लाख ९ हजार ७१० जना रहेको छ । त्यसैगरी यस संक्रमणका पूरै संक्रमितको संख्या भने ४६ लाख ६० हजार ६५८ जना पुगेको प्राप्त पछिल्लो समाचारमा बताइएको छ । एएनआई
प्रतिक्रिया