रोम । इटालीले आगामी महिनादेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको छ । स्थानीय समयअनुसार शुक्रबार राति इटालीको मन्त्रिपरिषद्को निर्णयमा इटालीभित्रको यात्रामा पनि प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
इटालियन जनतालाई फेरि एकपटक स्वतन्त्ररुपमा एक क्षेत्रबाट अर्को स्थानमा जान पाउने अनुमति दिइने छ । मे १८ मा अन्त्य हुने गरी अवागमनमा लगाएको प्रतिबन्धहरू १२ हप्ताभन्दा पछि हटाइने भएको छ । इटाली युरोपमा फैलिएको कोरोना भाइरसको प्रकोपको केन्द्रबिन्दु बनेको थियो ।
सङ्क्रमण नियन्त्रणका लागि यसले युरोपमा सबैभन्दा कडा मानिएको अनावश्यक यात्रामा प्रतिबन्ध लगाउँदै आन्तरिक तथा बाह्य सिमाना बन्द गरेको थियो ।
जसको सुरूमा युरोपेली मुलुकहरूमा चर्को आलोचना पनि भएको थियो तर इटालीले बन्दाबन्दी नै सङ्क्रमण रोक्ने उत्तम उपाय रहेको ठहर गर्दै लामो समयसम्म आवागमन तथा व्यापारिक गतिविधिमा रोक लगाएको थियो ।
इटालीले पहिलोपटक मार्च १० मा लागू भएको घरेलु लकडाउनका सर्तहरू बिस्तारै सहज गर्दै गएको छ । जुन ३ को परिवर्तन अन्तराष्ट्रिय आवागमनलाई खुलाउने पहिलो कदम हुनेछ ।
इटलीमा शनिबार बेलुकीसम्ममा दुई लाख २३ हजार ८८५ सङ्क्रमित भएका छन् भने ३१ हजार ६१० व्यक्तिको मृत्यु भएको छ । यहाँ एकलाख २० हजार २०५ जना निको भएर घर फर्किएका छन् ।
इटालीभर अझै ७२ हजार ७० व्यक्तिले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् । यीमध्ये ८०८ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको छ । सिन्हवा
प्रतिक्रिया