मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने प्रतिबद्धता

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने प्रतिबद्धता


काठमाडौँ । सरकारले न्याय सम्पादनलाई छिटोछरितो बनाई पहुँचयुक्त न्याय प्रणालीको प्रवर्द्धन गर्ने भएको छ । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनलाई सम्बोधन गर्दै आज सार्वजनिक गरेको आगामी वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा न्यायपालिकाको चौथौ पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयन गरी पहुँचयुक्त न्याय प्रणालीको प्रवर्द्धन गर्ने उल्लेख छ । 
 
“शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी कार्य सम्पन्न गरिनेछ, विगतको जनआन्दोलन र द्वन्द्वकालमा घाइते भई थप उपचारको आवश्यकता भएमा व्यक्तिहरुको उपचार गर्ने व्यवस्था मिलाइने छ”, नीति तथा कार्यक्रममा भनिएको छ, “आन्दोलन र द्धन्द्धबाट घाइते तथा अङ्गभङ्ग भएमा व्यक्तिलाई रोजगार र स्वरोजगारका अवसर उपलब्ध गराउने प्रविधि, तालिम र वित्तीय पहुँचको व्यवस्था गरिनेछ ।” 
 
नेपाली सेनालगायत सबै सुरक्षा निकायलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराई दक्ष, व्यावसायिक र उच्च मनोबलयुक्त बनाइने र सुरक्षाकर्मीलाई नियमित तालिम प्रदान गरी क्षमतावान् बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । 
 
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको आवश्यक तयारी पूरा गरी सैनिक सामग्री उत्पादनमा राष्ट्रिय वृद्धि गरिने साथै राष्ट्रिय एकीकरण पदमार्गको संरक्षण र प्रवद्र्धन गरिने उल्लेख छ । 
 
राष्ट्रिय योजना आयोगलाई विकास नीति, कार्यक्रम र आयोजनाको मूल्याङ्कन एवं अनसुन्धानमा केन्द्रित गरी आगामी वर्ष राष्ट्रिय जनगणना, नेपाली जीवनस्तर मापन सर्वेक्षण, औद्योगिक गणना तथा सुख सर्वेक्षण सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

शेयर गर्नुहोस:

0
Shares