मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो


काठमाडौँ । कोरोना भाइरसका कारण विश्वभर तीन लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ७८ हजार नाघेको छ । 
 
जोन्स हकिन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार रातिसम्ममा विश्वभर तीन लाख २२० जनाको मृत्यु भएको छ भने ५३ हजार नयाँ संक्रमित थपिएका छन् ।  
 
प्राप्त समाचारअनुसार विश्वभर ४५ हजार ८९० मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २४ लाख ४६ हजार ५७४ अर्थात् करिब ९८ प्रतिशतको अवस्था सामान्य छ । 
 
युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३३ हजार ६१४ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । 
 
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा खासै कमी आएको छैन । पछिल्लो २४ घन्टामा अमेरिकामा १७७२ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८५ हजार ४६३ पुगेको छ ।
 
कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घन्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घन्टामा इटालीमा १९५, स्पेनमा १८४ र फ्रान्समा ८३ जनाको ज्यान गएको छ । इटालीमा ३१ हजार १०६, स्पेनमा २७ हजार ३२१ र फ्रान्समा २७ हजार ७४ जनाको मृत्यु भएको छ ।  
 
कोरोना भाइरसबाट युरोपमा १५ लाख १५ हजार ५०९ जना कुल संक्रमित भएकोमा १ लाख ५८ हजार ३६७ जनाको मृत्यु भएको छ । यस्तै, उत्तर अमेरिकामा १५ लाख ७७ हजार २२५ संक्रमित भएकोमा ९५ हजार ९८१ जनाको ज्यान गएको छ । 
 
यसैगरी, एसियामा ७ लाख ३४ हजार ३५७ जना बिरामी छन् भने २३ हजार ४३१ जनाले ज्यान गुमाएका छन् । दक्षिण अमेरिकामा ३ लाख ६१ हजार ५८ जना संक्रमितमध्ये १९ हजार १९४ को मृत्यु भएको छ । अफ्रिकामा ७४ हजार ५०८ जना संक्रमित रहेकोमा २ हजार ५१२ को ज्यान गएको छ । यस्तै, ओसेनिया (अस्ट्रेलिया) मा कुल ८ हजार ५९० जना संक्रमितमध्ये ११९ ले ज्यान गुमाएका छन् ।  
 
दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा प्रभावित भारत बनेको छ । भारतमा ७९ हजार ३३३ जना संक्रमित छन् भने २ हजार ५६४ ले ज्यान गुमाएका छन् । यस्तै, पाकिस्तानमा ३५ हजार ७८८ संक्रमितमध्ये ७७० को ज्यान गएको छ । बंगलादेशमा १८ हजार ८६३ संक्रमितमध्ये २८३ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा ५ हजार ६३९ संक्रमितमध्ये १३६ को ज्यान गएको छ । 
 
यस्तै, श्रीलंकामा ९१६ कुल संक्रमितमध्ये ९ जनाको निधन भएको छ । यस्तै, माल्दिभ्समा ९५५ संक्रमित रहेकोमा ४ जनाको ज्यान गएको छ । 
 
नेपालमा हालसम्म २४९ जना संक्रमित छन् भने ३५ जना निको भएका छन् । भुटानमा १९ जनामा संक्रमित देखिएकोमा ५ जना र फर्किसकेका छन् । एजेन्सीको सहयोगमा