नयाँदिल्ली । भारतमा बुधबार रातिसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७७ हजार ७२९ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घन्टामा भारतभर तीन हजार ४३७ जना नयाँ संक्रमित भेटिएका छन् ।
कुल संक्रमितमध्ये २५ हजार ९७७ जना निको भएर घर फर्किएका वा डिस्चार्ज भएका छन् भने ४९ हजार २१७ जनाको उपचार भइरहेको छ ।
कोभिड–१९ बाट विगत २४ घन्टामा १२१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको कुल संख्या दुई हजार ५३५ पुगेको छ ।
मन्त्रालयका अनुसार महाराष्ट्र, गुजरात, तामिलनाडु र नयाँ दिल्ली राज्य सबैभन्दा बढी प्रभावित भएका छन् । पछिल्लो विवरण अनुसार महाराष्ट्रमा २४ हजार ४२७ जना, गुजरातमा ८ हजार ९०३ जना, नयाँदिल्लीमा ७ हजार ६३९ जना संक्रमित छन् ।
कुल मृत्यु भएका व्यक्तिमध्ये महाराष्ट्रमा ९२१ जना, गुजरातमा ५३७ जना र तामिलनाडुमा ६१ जनाको मृत्यु भएको छ ।
यसैगरी भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, अरुणाचल, गोवा, मणिपुर, मिजोरम समेतका धेरै राज्यमा कोरोनाको संक्रमण देखिएको छ ।
कोरोना संक्रमण रोकथामका लागि भारत सरकारले एक महिनाभन्दा बढी समयदेखि देशव्यापी लकडाउन जारी राखेको छ ।
तर, पछिल्लो समय भारतीय श्रमिक, मजदूर, विद्यार्थीसमेतका लागि विशेष श्रमिक रेलसेवा सञ्चालनमा ल्याएको छ । भारतमा सबैभन्दा धेरै उत्तर प्रदेशमा तीन लाखभन्दा बढी नागरिक आएका छन् ।
देशका विभिन्न ठाउँबाट २६८ ओटा विषेश रेल सेवामार्फत् उनीहरु उत्तर प्रदेश आएको वरिष्ठ एक अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
उनीहरुलाई होम क्वारेन्टाइनमा पठाउनुअघि स्वस्थ्य परीक्षण गरिएको र खाद्य पदार्थको प्याकेट पनि दिने गरिएको अतिरिक्त मुख्यसचिव आश्विन अवस्थीले बताए ।
कुल तीन लाख २६ हजार ४० जना मानिस आएको पनि उनले जानकारी दिए । उनीहरुमध्ये सबैभन्दा धेरै गोरखपुर आएका छन् । गोरखपुरका ४३ वटा रेलमा ४४ हजार ५७४ जना आएका छन् ।
उत्तर प्रदेशको लखनउ, जौनपुर, प्रयागराज, बरेली, प्रतापगढ, गोन्डा, आग्रा, बालिया, रायबरेली, वाराणसी, कानपुरलगायतका ठाउँमा जाने मानिस पनि विभिन्न ठाउँबाट फर्किएका छन् । एएनआई
प्रतिक्रिया