नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बेलुकीसम्म ७२ हजार ५९३ पुगेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको बताइएको छ ।
गत २४ घन्टामा मात्र ३ हजार ६०७ जना कोरोना भाइरस संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा यस प्रकोपबाट। मृत्यु हुनेहरूको सख्या २ हजार ३३१ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २३ हजार २०३ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा मंगलबार रातिसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४७ हजारभन्दा बढी संक्रमितहरू अस्पतालमा उपचार गराइरहेका छन् ।
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २३ हजार ४०० नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । यस संक्रमणबाट महराष्ट्रमा ८६८ को मृत्यु भएको छ । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ८ हजार ५४१ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । यहाँ यस संक्रमणबाट भने ५१३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी तामिलनाडूमा यसबाट ८ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यस संक्रमणबाट २ हजार भन्दा बढी निको भएका छन् भने यहाँका ५३ जनाको ज्यान गएको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ७ हजार ७३३ जना विरामी छन् । यहाँ ७३ जनाको ज्यान गएको सो मन्त्रालयले जनाएको छ । त्यसैगरी दिल्लीका संक्रमितमध्ये २ हजार १७३ जना निको भएका बताइएको छ ।
कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिँदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । एएनआई







प्रतिक्रिया