मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अन्तर्राष्ट्रिय पर्यटन ८० प्रतिशतसम्म खुम्चिने अनुमान

अन्तर्राष्ट्रिय पर्यटन ८० प्रतिशतसम्म खुम्चिने अनुमान


संयुक्त राष्ट्रसंघ । अन्तर्राष्ट्रिय पर्यटनमा यस वर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ ।
 
संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) ले कोरोनाभाइरसको सङ्क्रमण फैलिएकाले पर्यटकहरुको सङ्ख्यामा कमी आउने जनाएको हो । 
 
यस वर्षको पहिलो चौमासिकमै पर्यटकको सङ्ख्यामा २२ प्रतिशत कमी आएको पनि अन्तर्राष्ट्रिय यस संस्थाले जनाएको छ ।
 
विश्व स्वास्थ्य संगठनको अनुमान र अहिलेसम्मको अवस्थालाई हेर्दा अघिल्लो वर्षको तुलनामा यस बर्षभरीमा ६० देखि ८० प्रतिशत पर्यटक घट्ने देखिएको विश्व पर्यटन सङ्गठनले बताएको छ ।
 
यस क्षेत्रका दशौँ लाख जीवजन्तु खतरामा रहेको र यसले दिगो विकास लक्ष्य (एसडिजी)लाई पनि असर गर्ने देखिएको सङ्गठनले जनाएको छ ।
 
कोरोनाभाइरसका कारण विश्वले अहिले अनपेक्षित रुपमा स्वास्थ्य र आर्थिक सङ्कट झेलिरहेको छ । यसले पर्यटन क्षेत्रलाई पनि नराम्रोसँग असर पारेको राष्ट्रसङ्घीय अधिकारीहरुले बताएका छन् । 
 
“रोजगारीको धेरै अवसर दिएको पर्यटन क्षेत्रमा कार्यरत दशौँ लाख मानिसको रोजगारी सङ्कटमा परेको छ,” युएनडब्लुटिओका महासचिव जुराब पोलोलिकाश्भीलीले भन्नुभयो ।
 
कोरोनाभाइरसको सङ्क्रमणको डरले अधिकांश देशहरुले आवतजावतलाई बन्द गरेका छन् भने अधिकांश देशका नाका र हवाई सेवा पनि बन्द रहेका छन् । 
 
यसले अन्तरदेशीय पर्यटनलाई अत्यधिक धेरै असर पारेको छ भने आन्तरिक पर्यटनलाई कम असर पारेको छ ।   
 
कोरोनाभाइरसबाट सवैभन्दा धेरै एशिया प्रशान्त क्षेत्रमा र युरोपलगायतका देशहरुमा प्रभाव धेरै परेको देखिएको छ । कोरोनाभाइरसको प्रभाव बढी परेकै क्षेत्रमा पर्यटन व्यवसायले पनि ठूलो क्षति भोग्नु परेको छ ।  
 
यो वर्षको बाँकी समयमा कति क्षति हुन्छ भन्ने कुरा कोरोनाभाइरसको सङ्क्रमण कति फैलिन्छ र कति देशहरुले कहिलेसम्म लकडाउन र सिमाना तथा उडान सेवा कहिलेसम्म बन्द गर्छन् भन्ने कुरामा निर्भर रहने पनि संगठनले जनाएको छ । पिटिआई