जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ७६ हजार २१५ बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४० लाख १२ हजार ७६९ नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शनिबार बिहानसम्ममा विश्वभर २४ घन्टाको अवधिमा ५ हजार ५५० जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि विश्वभर ५ हजार ५८९ र त्यसअघि ६ हजार ८११ जनाको मृत्यु भएको थियो ।
प्राप्त समाचारअनुसार विश्वभर करिब ४८ हजार ६९९ मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख २ हजार ७३१ अर्थात् करिब ९८ प्रतिशतको अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३१ हजार २४१ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ११ हजार ३६४ पुगेको छ । बेलायतमा पछिल्लो चौबिसघन्टाभित्र ६२६ जनाले ज्यान गुमाएका छन् ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा अझै पनि कमी आएको छैन । पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ६८७ जनाकको मृत्यु भएको छ । शुक्रबार २ हजार १२९ जनाको मृत्यु भएको थियो भने अघिल्लो दिन २ हजार ५२८ जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या ७८ हजार ६१५ पुगेको छ ।
कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घन्टाको अवधिमा अघिल्लो दिनझैँ सामान्य नै रहेको छ । विगत २४ घन्टायता इटालीमा २४३, स्पेनमा २२९ र फ्रान्समा २४३ जनाको ज्यान गएको छ ।
कोरोना भाइरसबाट युरोपमा १५ लाख ८१ हजार २५६ व्यक्ति प्रभावित भएकोमा १ लाख ५० हजार ५१४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा १४ लाख ४२ हजार संक्रमित भएकोमा ७५० हजारको मृत्यु भएको छ ।
यस्तै, एसियामा कुल ६ लाख ३४ हजार ८३१ संक्रमित भएकोमा २१ हजार ५०१ को मृत्यु भएको छ । दक्षिण अमेरिकामा २ लाख ८२ हजार १७५ संक्रमित भएकामध्ये १४ हजार ५७७ को मृत्यु भएको छ ।
यस्तै, अफ्रिकामा ५९ हजार संक्रमितमध्ये २ हजार १६१ सय व्यक्तिको ज्यान गएको छ । यसैगरी, ओसेनियामा ८ हजार ५०८ जना संक्रमित भएकोमा ११८ को मृत्यु भएको छ ।
यस्तै, दक्षिण एसियाली मुलुकतर्फ भारतमा ५९ हजार ६९५ जना संक्रमित रहेकोमा १९८५, पाकिस्तानमा २६ हजार ४३५ व्यक्ति बिरामी रहेकोमा ५९९, बंगलादेशमा १३ हजार १३४ व्यक्ति संक्रमित रहेकोमा २०६, अफगानिस्तानमा ३७७८ मानिस संक्रमित रहेकोमा १०९, श्रीलंकामा ८३५ संक्रमितमध्ये ९, माल्दिभ्समा ७४४ संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ ।
यसैगरी, नेपालमा हालसम्म १०२ व्यक्ति संक्रमित रहेकोमा ३० जना निको भई घर फर्किएका छन् । यस्तै, भुटानमा सात जनामा संक्रमण देखिएकोमा ५ जना निको भएका छन् । एएफपी







प्रतिक्रिया