मस्को । रूसमा पछिल्लो चौबिसघन्टामा थप १० हजार ६९९ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेको छ ।
रूसमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ८७ हजार ८५९ पुगेको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । केन्द्रको तथ्याङ्कअनुसार विगत छ दिन रूसमा सङ्क्रमितको सङ्ख्या निरन्तर १० हजारको हाराहारीमा रहेकोमा बिहीबार ११ हजार २३१ जना संक्रमित भएको थिए । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।
मुलुकको सबैभन्दा बढी प्रभावित क्षेत्र मस्कोमा गत २४ घन्टामा थप पाँच हजार ८४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै मस्कोमा ९८ हजार ५२२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
कोभिड–१९ को प्रकोपका कारण रूसमा मृत्यु हुनेको सङ्ख्या एक हजार ७२३ पुगेको छ । रूसमा बिहीबारपछिका २४ घन्टामा ९८ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । रूसमा अहिलेसम्म सङ्क्रमितमध्ये २६ हजार ६०८ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।
बिहीबारसम्ममा देशभर कुल दुई लाख ९२ हजार ४६९ जनालाई चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको रूसको उपभोक्ता अधिकार र मानव कल्याणकारी संस्थाले शुक्रबार एक विज्ञप्तिमा बताएको छ ।
रूसभर शुक्रबारसम्म ५० लाख व्यक्तिको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको छ भने मस्कोमा कोरोनाभाइरस फैलिनबाट रोक्न नागरिकहरूलाई अतिआवश्यक कामबाहेक घर वा कार्यस्थलबाट बाहिर नजान वा यथास्थानमा रहन बिहीबारसम्मका लागि जारी गरिएको निर्देशन आगामी मे ३१ सम्मका लागि बढाइएको मस्कोका नगरप्रमुख सेर्गेई सोवियानिनले बताएका छन् ।
रूसले आगामी सोमबारदेखि मास्क र पञ्जा लगाएर व्यवसायिक सुविधा लिनदिन र सहरभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सकिने बताएको छ । आगामी मङ्गलबारदेखि रूसी राजधानी मस्कोमा औद्योगिक तथा निर्माण क्षेत्रलाई पुनः सञ्चालनका लागि अनुमति दिइएको छ । सिन्ह्वा







प्रतिक्रिया