काठमाडौँ । काठमाडौँमा एक व्यक्ति सवारी अनुमतिपत्र (लाइसेन्स) नै नबनाई मापसे गरेर एम्बुलेन्स चलाएको भेटिएको छ ।
काठमाडौँको गौशालामा एक निजी कारलाई ठक्कर दिएपछि भएको अनुसन्धानका क्रममा उनले अहिलेसम्म चालक अनुमतिपत्र नबनाएको र मापसे गरेर एम्बुलेन्स चलाएको फेला परेको प्रहरीले जनाएको छ ।
कारलाई ठक्कर दिए पनि ठूलो दुर्घटना हुनबाट भने जोगिएको छ ।
मित्रपार्कबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेको बा१०च ८५१३ नम्बरको निजी कारलाई विपरीत दिशाबाट आएको बा८छ ६९२८ नम्बरको एम्बुलेन्सले आज अपराह्न ठक्कर दिएको थियो ।
दुर्घटनामा कार चालक सविन श्रेष्ठ घाइते भएका र दुवै सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
मोरङको पथरी बस्ने एम्बुलेन्स चालक वर्ष ३६ का रामबहादुर चौधरीलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आवश्यक कारवाहीका लागि उनलाई महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशालामा राखिएको छ ।
प्रतिक्रिया