बग्दाद । इराकका पूर्व गुप्तचर प्रमुख मुस्तफा खादिमी नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । अमेरिका पक्षीय मानिने खादिमीलाई इराकको संसद्ले बिहीबार प्रधानमन्त्रीमा निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकाको न्युयोर्क टाईम्सले पनि खादिमीको सम्बन्ध अमेरिकासँग धेरै राम्रो रहेको र उनी क्षमतावान् व्यक्ति भएको जनाएको छ । तत्कालीन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजीनामा दिएपछि लामो समयपछि उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
इराकमा लामो समयदेखि कामचलाउ प्रधानमन्त्रीको भरमा सरकार सञ्चालन भइरहेको थियो भने सरकारविरोधी प्रदर्शनहरु पनि भइरहेका थिए ।
प्रदर्शनकारीहरुले रोजगारी र सुशासनको माग गरेका थिए । उनीहरुले भ्रष्टाचार अन्त्य गर्न र सरकारका काम कारबाही राम्रो बनाउन आग्रह गर्दै आएका थिए ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि खादिमीले इराकको सुरक्षा, समृद्धि र उत्थानका लागि संसद्ले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सबैभन्दा पहिलो प्राथमिकता कोरोनाभाइरसविरुद्धको लडाइँ हुने पनि उल्लेख गरेका छन् ।
इराकमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दुई हजार ४८० पुगेको छ भने १०२ व्यक्तिको विश्वव्यापी प्रकोपका रूपमा फैलिएको यस भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । एएनआई
प्रतिक्रिया